गृहपृष्ठ एक सातामा विदेशमा रहेका ९६३ नेपालीमा कोरोना संक्रमण
एक सातामा विदेशमा रहेका ९६३ नेपालीमा कोरोना संक्रमण
एक साताको अवधिमा विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार संक्रमतिमध्ये ४५० जना रोमानियामा रहेका नेपाली हुन् ।
गत साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपालीमा कोरोनाभाइरस संक्रमण भएको संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । उनका अनुसार गत साता विदेशमा कुनै पनि नेपालीले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छैनन् ।
विभिन्न ४२ देशमा रहेका नेपालीमध्ये हालसम्म ४३ हजार ५६९ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । तीमध्ये ३९ हजार ५६५ जना कोरोनामुक्त भएको भएको स्वास्थ्य समितिले जनाएको छ । यो कुल संक्रमितको ९२ प्रतिशत हो । गत सातासम्ममा १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भएको संघले जानकारी गराएको छ ।
नेपालमा कोरोनामुक्त हुनेको संख्या बढ्यो
कोरोनाभाइरसबाट मुक्त हुने नेपालीको संख्या बढेको छ । अघिल्लो सातासम्म कोरोना संक्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत नेपाली रहेकोमा गत सातासम्ममा कुल संक्रमितको ७६.९ प्रतिशत कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
गत सातासम्ममा नेपालमा १ लाख ७० हजार ७४३ जना कोरोनाभाइरसबाट संक्रमित भएकोमा १ लाख ३१ हजार २२२ जना कोरोनामुक्त भएका छन । शनिबार साँझसम्म नेपालमा ९३७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अनावश्यक यात्रा नगर्न आग्रह
गैरआवासीय नेपाली संघले अति आवश्यकबाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरानाभाइरसको विश्वव्यापी संक्रमणका कारण बेलायत, फ्रान्स, बेल्जियम, जर्मनीलगायतका शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अति आवश्यकबाहेक अन्य प्रयोजनमा यात्रा तय नगर्न संघले आह्वान गरेको हो ।
एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेला नगर्नसमेत आग्रह गरेका छन् । स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किँदा मानिसलाई अनिवार्य मास्क प्रयोग गर्न, हात धुन, मुख नछुन र नाक नकोट्याउन पनि अनुरोध गरेको छ ।
एक लाख २६ हजार जनालाई स्वदेश फर्काइयो
गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुको संयुक्त पहलमा हालसम्म ३३ देशबाट १ लाख २६ हजार ९८९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । कोरोनाभाइरस महामारीका कारण रोगजारी गुमाएका तथा त्रासका कारण घर आउन चाहने प्रवासीलाई नेपाल फर्काइएको हो ।
प्रकाशित समय ११:५५ बजे

















