गृहपृष्ठ कोरोना संक्रमितको शव व्यवस्थापनमा चुनौती, परम्परागत घाटमै स्थानीयको अवरोध

कोरोना संक्रमितको शव व्यवस्थापनमा चुनौती, परम्परागत घाटमै स्थानीयको अवरोध

विरोधमा उत्रिएका स्थानीय र उनीहरूलाई रोक्न तैनाथ सुरक्षाकर्मी ।

कोरोनाभाइरस (कोभिड- १९) को संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयको अवरोध भएको छ । कमलामाई नगरपालिका- ६ र ७ को संगमस्थलमा पर्ने गडौली खोलाको घाटमा शव व्यवस्थापन गर्ने क्रममा स्थानीयले घाटमै पुगेर अवरोध गरेका छन् ।

कोरोना संक्रमण भएपछि सिन्धुली अस्पतालमा उपचारका क्रममा कमलामाई नगरपालिका- ५ का ४८ वर्षीय एक पुरुषको बिहीबार बिहान मृत्यु भएको थियो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनाले उक्त घाटमा खाल्डो खन्ने क्रममा सयौंको संख्यामा पुगेका स्थानीयले अवरोध गरेका हुन् । कोरोना संक्रमितको शव ल्याउँदै गरेको थाहा पाएपछि घाटमै पुगेका स्थानीयको विरोधपछि शव व्यवस्थापन रोकिएको छ ।

स्थानीयको विरोध भएपछि शव फिर्ता ल्याइएको कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार नगरपालिकाकै लोडरले खाल्डो खनेर शव व्यवस्थापनको तयारी भइरहेको थियो । परम्परागत घाटमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नदिइनु दुखद भएको प्रमुख खत्रीले बताए ।

घाटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरे पनि स्थानीयको विरोधपछि शवलाई नगरपालिकाको अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । ‘परम्परागत घाटमा शव व्यवस्थापन गर्ने क्रममा स्थानीयको अवरोधपछि शव फिर्ता गरिएको छ । अब अन्य कुनै व्यवस्थित स्थानमा शवको व्यवस्थापन हुन्छ,’ उनले भने ।

यसअघि जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएकी कमलामाई नगरपालिका- ६ पानीटंकीकी ८४ वर्षीया वृद्धाको शव कमलामाई नगरपालिका- ७ स्थित बुकाखोलामा व्यवथापन गरिएको थियो । तर, यो पटक उक्त स्थानमा पनि स्थानीयले विरोध जनाएपछि शव व्यवस्थापनमा समस्या भएको हो ।

प्रकाशित समय १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु