गृहपृष्ठ के नेपाल सुनको ट्रान्जिट हुन छाडेको हो ?
के नेपाल सुनको ट्रान्जिट हुन छाडेको हो ?
नेपालमा दुई वर्षअघि आर्थिक वर्ष २०७५/७६ मा मात्रै ३४ अर्ब ६१ करोड रुपैयाँको सुन आयात भयो । त्यसअघिका दुई वर्ष ३१ अर्ब ७४ करोड, २३ अर्ब २३ करोड र आव २०७२/७३ मा १६ अर्ब ७ करोडको सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
नेपालमा सुन आयात हुने मुख्य स्रोत मुलुक युनइटेड अरब इमिरेट्स (यूएई) हो । पाँच वर्षको अवधिमा यूएईबाट मात्रै ७५ अर्ब ३४ करोड ७६ लाख २९ हजार रुपैयाँको १६ हजार ८७० किलो सुन आयात भएको छ । यो कुल आयातको ६३ प्रतिशतभन्दा बढी हो । पाँच वर्षको अवधि आव २०७२/७३ देखि २०७६/७७ सम्ममा नेपालमा १ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ ।
यूएईबाट वर्ष २०७२/७३ मा ११ अर्ब ३६ करोड ७९ लाखको २ हजार ९५० किलो, आव २०७३/७४ मा २१ अर्ब १४ करोड ६४ लाखको ४ हजार ९५० किलो, २०७४/७५ मा ६ अर्ब ९९ करोड ६१ लाखको १ हजार ५६२ किलो, ०७५/७६ मा २७ अर्ब १४ करोड २१ लाखको ५ हजार ८५८ किलो र ०७६/७७ मा ८ अर्ब ६९ करोड ४८ लाख रुपैयाँबराबरको सुन आयात भएको छ ।
यो अवधिमा टर्कीबाट १२ अर्ब ४० करोड १७ लाख ३५ हजारको २ हजार ७०० किलो सुन भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालमा बढी सुन भित्रिने तेस्रो मुलुक स्विट्जरल्यान्ड हो । एउटा अनौठो तथ्यांक के छ भने बितेका पाँच वर्षको अवधिमा २४ अर्ब ८४ करोड ८६ लाख रुपैयाँको सुन कुन देशबाट भित्रियो भन्नेमा भन्सार विभाग नै अनभिज्ञ छ ।
नेपालमा सबै सुन खपत हुन्छ ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा दैनिक ३० किलो सुन खपत हुन्छ । महासंघको तथ्यांक पर्गेल्ने हो भने देशभरका २ हजारभन्दा बढी सुनचाँदी पसलले मासिक ९ सय र वार्षिक औसत १० हजार ८०० किलो सुन किनबेच गर्छन् । पाँच वर्षको अवधिमा २६ हजार ७४१ किलो अर्थात् बर्सेनि ५ हजार ३४८ किलो सुन भित्रिएको छ ।
त्यसो भए अपुग सुन कसरी म्यानेज हुन्छ त ?
महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यका अनुसार सामान्य अवस्थामा करिब ३३ प्रतिशत पुरानो गरगहना बजारमा आउँछ । त्यस्तै ३३ प्रतिशत ५० ग्राम (व्यक्तिगत) सुविधाबाट भित्रिन्छ भने ३३ प्रतिशत आयातीत सुनले बजार धान्छ ।
नेपाली बजारको मागअनुसार दैनिक करिब २० किलो सुन पुरानो गहना र ५० ग्राम सुविधाले कभर गर्छ भने १० किलो अर्थात् वार्षिक करिब ३ हजार ६०० किलो आयातीत सुनले कभर गर्छ । उच्च मूल्यवृद्धि र कोरोना महामारीका कारण आव २०७६/७७ मा सुनको बजार नराम्ररी प्रभावित भएको छ । त्यसअघिका चार आर्थिक वर्षमा मागको दोब्बरभन्दा बढी सुन आयात भएको छ । आव ०७२/७३ मा ४ हजार १६५ किलो, ०७३/७४ मा ५ हजार ४५० किलो, आव ०७४/७५ मा ७ हजार २३३ किलो र आव २०७५/७६ मा ७ हजार ४९३ किलो सुन आयात भएको छ । बढी सुन कहाँ जान्छ त !
भारत तस्करी
नेपाललाई ट्रान्जिट बनाएर ठूलो परिमाणमा भारततर्फ सुन तस्करी हुने गर्छ । सुन तस्करी बढ्दा नेपाली बजार प्रभावित भएको भन्दै महासंघले सरकारलाई सुनमा भन्सार वृद्धि गर्न हरेक वर्ष सुझाव दिने गरेको छ ।
सरकारले महासंघको सुझाव र सुन व्यापारको स्थितिलाई मूल्यांकन गर्दै लगातार भन्सार महसुल बढाउँदै पनि आएको छ । तीन वर्षअघिको तुलनामा सुनमा भन्सार महसुल प्रति १० ग्राम ४३ सय रुपैयाँ बढेर अहिले ८५ सय पुगेको छ । तीन वर्षअघि सुनको भन्सार प्रति १० ग्राम ४२ सय रुपैयाँ थियो । आव ०७४/७५ मा ५ हजार, ०७५/७६ मा ६५ सय र चालू आवमा २ हजार बढाएर ८५ सय पुर्याइएको छ ।
सुनमा भन्सार वृद्धिले नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ भइरहेको सुन तस्करीलाई रोक्न धेरै मद्दत पुगेको व्यवसायी बताउँछन् । तथ्यांकले यसलाई पुष्टि पनि गर्छ । सन् २०१७ मा भारतमा प्रतिशत १० ग्राम सुनको औसत मूल्य ४७ हजार ४६७ रुपैयाँ थियो भने नेपालमा ४६ हजार ९८२ रुपैयाँ । प्रतिकिलो ४८ हजार ५०० रूपैयाँ फरक । सन् २०१८ मा भारतमा प्रति १० ग्राम सुनको औसत मूल्य ५० हजार तीन सय र नेपालमा ४९ हजार १७० रूपैयाँ थियो । त्यसबेला एक किलो सुन अवैध बाटोबाट भारत पुर्याउनेले १ लाख १३ हजार कमाउँथ्यो ।
सन् २०१८ मा भारतमा प्रति १० ग्राम सुनको औसत मूल्य ५० हजार तीन सय र नेपालमा ४९ हजार १७० रूपैयाँ थियो । त्यसबेला एक किलो सुन अवैध बाटोबाट भारत पुर्याउनेले १ लाख १३ हजार कमाउँथ्यो ।
सन् २०१९ को तथ्यांक भिन्न छ । सरकारले भन्सार महसुल बढाउँदै लैजाँदा भारतमा भन्दा नेपालमा प्रतिकिलो सुन ८३ हजार ३०० रूपैयाँ महँगो हुन पुग्यो । सन् २०१९ मा प्रति १० ग्राम सुनको औसत मूल्य भारतमा ५६ हजार ३५२ र नेपालमा ५७ हजार १८५ रूपैयाँ थियो । ‘हामीले चाहेको पनि यही थियो,’ महासंघका अर्का पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन्, ‘तस्करी रोक्न सुनमा भन्सार बढाउनैपर्छ, भारतमा भन्दा नेपालमा थोरै भए पनि मूल्य बढी भयो भने तस्करी नियन्त्रण हुन सहयोग पुग्छ भनेर हामीले पटक-पटक सरकारलाई सुझाव दिइरहेका थियौँ ।’
सन् २०२० कात्तिक २० गतेको नेपाल र भारतको प्रति १० ग्राम सुनको मूल्यअन्तर १ हजार १९ रुपैयाँ छ । बिहीबार नेपालमा प्रति १० ग्राम सुनको मूल्य ८२ हजार ४७५ रुपैयाँ छ भने भारतमा ८१ हजार ४५६ रुपैयाँ छ । नेपालमा प्रतिकिलो १ लाख १ हजार ९०० रुपैयाँ महँगो । सुन आयातको ओरालो ग्राफले पनि यसलाई स्पष्ट पार्छ ।
नेपालमा सुन आयात हुन प्रमुख देशहरू यूएई, टर्की र स्विट्जरल्यान्ड हुन् । तस्करी उत्कर्षमा पुगेका बेला भने ३९ देशहरू (अस्ट्रेलिया, अस्ट्रिया, बहराइन, बंगलादेश, ब्रुनाई, दारुसलाम, क्यानडा, चीन, डेनमार्क, फ्रान्स, इजिप्ट, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, इटाली, जोर्डन, जापान, केन्या, दक्षिण कोरिया, कुवेत, लेबनान, मलेसिया, माल्दिभ्स, ओमान, पोल्यान्ड, पोर्चुगल, कतार, साउदी अरब, सिंगापुर, सुडान, स्विट्जरल्यान्ड, टोक्लो (टापु), टर्की, यूएई, थाइल्यान्ड, बेलायत र अमेरिका) बाट सुन भित्रियो । अर्बौं मूल्यको सुन कुन देशबाट भित्रियो भन्ने यकिन हुन सकेन ।
व्यक्तिगत तवरबाट पनि ठूलो परिमाणमा सुन भित्रिन थालेपछि सरकारले २०७६ कात्तिकमा ५० ग्रामसम्म सुन ल्याउने यात्रुले प्रति १० ग्राम ६ हजार दुई सय रुपैयाँ भन्सार तिर्दै आएकोमा बढाएर ७ हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने बनायो । त्यसले पनि सुन तस्करीलाई निरुत्साहित गर्न सहयोग पुगेको व्यवसायी बताउँछन् ।
भन्सार महसुल वृद्धिले मात्र नेपालबाट भारतमा सुन तस्करी रोकिएको भने छैन । भारतमा अवैध सम्पत्ति आर्जनको जालो अत्यन्तै ठूलो छ । उनीहरूका लागि अर्बौं मूल्यको अवैध सम्पत्ति थन्क्याउने सजिलो माध्यम अवैध सुन नै हो । र, अर्को तर्क भारतीय बजारलाई वैध माध्यमबाट भित्रिएको सुनले पुग्दैन । विकल्पमा त्यहाँका सुन व्यवसायी अवैध सुन खोज्न बाध्य हुन्छन् ।
सरकारले सीमा नाकामा कडाइ गर्न सकेमात्र भारततर्फको तस्करी पूर्णरुपमा रोक्न सकिने पूर्वअध्यक्ष मणिरत्न बताउँछन् । ‘भन्सार महसुल वृद्धिले तस्करी धेरै हदसम्म निरुत्साहित भएको छ,’ उनी भन्छन्, ‘तस्करी पूर्ण नियन्त्रण भए नेपाली सुन व्यवसायी र उपभोक्तालाई समेत ठूलो राहत पुग्ने थियो ।’
मूल्यवृद्धि र कोरोनाको प्रभाव
गत वर्ष भने सुन बजार मूल्यवृद्धि र कोरोनाको चपेटामा पर्यो । उच्च मूल्यवृद्धिका कारण साउनदेखि असोजसम्म सुन आयात भएन । मूल्य बढेर स्थिर भएपछि कात्तिकदेखि फागुनसम्ममा १२ अर्ब ५७ करोड ६७ लाख रूपैयाँको सुन भित्रियो । चैतदेखि कोरोनाले बजार प्रभावित भयो । परिणामतः असारसम्ममा ८८ करोड ३७ लाखको मात्र सुन आयात भयो । चालू आर्थिक वर्षको तीन महिनामा पनि ७३ करोड ७० लाख ३४ हजार रुपैयाँबराबरको सय किलोमात्र सुन आयात भएको छ ।
चाँदी कति भित्रियो ?
नेपालमा आव २०७२/७३ मा ७ अर्ब १२ करोड २१ लाख रुपैयाँको १ लाख ४० हजार ३११ किलो चाँदी स्विट्जरल्यान्ड, हङकङ, चीन, टर्की, अमेरिका, यूएईबाट आयात भयो । त्यस्तै ०७३/७४ मा ८ अर्ब ६० करोड ७५ लाखको १ लाख ४० हजार ६७६ किलो, ०७४/७५ मा १० अर्ब १९ करोड ३० लाखको १ लाख ८७ हजार ८०१ किलो र आव ०७५/७६ मा ७ अर्ब २० करोड ६० लाख ८६ हजार रुपैयाँको १ लाख २९ हजार २५२ किलो चाँदी आयात भएको छ । त्यस्तै गत वर्ष ६ अर्ब १ करोड ५१ हजार रुपैयाँको ९२ हजार १९ किलो चाँदी भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित समय १४:१० बजे

















