गृहपृष्ठ भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान

भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान

तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको उपाधि लिएका छन् ।

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालयमा आयोजित विषेश कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि दिएकी हुन् । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् । भारत र नेपालका प्रधानसेनापति एक अर्काको देशका मानार्थ महारथी हुने चलन रहेको छ । यही चलनलाई निरन्तरता दिन नरवणे बुधबार नेपाल आइपुगेका हुन् ।

प्रधानसेनापति थापाको औपचारिक निमन्त्रणमा नेपाल आएका नरवणेले पहिलो दिन बसन्तपुर गएर जीवित देवी कुमारी र पशुपतिनाथको बाहिरबाटै दर्शन गरेका थिए । सेनाध्यक्ष नरवणेलाई बिहीबार नेपाली सेनाले गार्ड अफ अनर दिएकाे थियो । सैनिक मुख्यालमा बिहीबार आयोजित कार्यक्रममा नरवणेलाई गार्ड अफ अनर प्रदान गरिएकाे हाे । त्यसअघि नरवणे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । नरवणेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरेका छन् ।

उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित समय १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु