गृहपृष्ठ निरन्तर ओरालोमा नेप्से, बिहीबार ४.४७ अंकले घट्यो
निरन्तर ओरालोमा नेप्से, बिहीबार ४.४७ अंकले घट्यो
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दुई दिन लगातार ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से ४.४७ अंकले ओरालो लागेर एक हजार ६३६.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि २.१४ ले ओरालो लागेर ३२४.३६ मा पुगेको छ ।
बुधबार नेप्से २.३९ अंकले घटेर एक हजार ६४०.६४ मा पुगेको थियो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.११ अंकले घटेर ३२६.४९ मा झरेको थियो । मंगलबार भने सेयर बजार परिसूचक झिनो अंकले बढेको थियो । दश वटा समूह उकालो लागेपछि समग्र बजार परिसूचक नेप्से ५.४ अंकले बढेर १६४३.०३ अंकमा उक्लिएको थियो ।
बिहीबार २०० कम्पनीको ९१ लाख २३ हजार ८९६ कित्ता सेयर दुई अर्ब ८४ करोड २४ लाख रूपैयाँको खरिद बिक्री भए । आज कारोबार भएका १२ उपसमूहमध्ये चार उपसमूहको सेयर भने उकालो लागेको छ । आठ उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ ७.९, व्यापार १९.०३ वित्त ०.२, निर्जीवन बिमा १६.१८, उत्पादन ४.२१, अन्य ०.६७, लघुवित्त १३.३४ म्याचुअल फन्ट ०.०२ बिन्दुले ओरालो लागेको छ । बाँकी चार वटा उपसमूह होटल ४.८६, विकास बैंक ५.०५, जलविद्युत् १३.९३ र जीवन बिमा १.३५ अंकले उकालो लागेको छ ।
कारोबारका आधारमा आज प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २० करोड ८४ लाख ६० हजार रूपैयाँको कारोबार भएको छ । यस्तै अरूण काबेली पावरको १८ करोड ५४ लाख ९१ हजार रूपैयाँ, एभरेष्ट बैंकको १६ करोड ४५ लाख रूपैयाँ, अपी पावर कम्पनी १४ करोड ३४ लाख ६२ हजार रूपैयाँको कारोबार भइ शीर्ष स्थानमा रहे ।
प्रकाशित समय १७:३५ बजे

















