गृहपृष्ठ काठमाडौंको कलंकीमा ट्रक दुर्घटना हुँदा ३ को मृत्यु, २ घाइते
काठमाडौंको कलंकीमा ट्रक दुर्घटना हुँदा ३ को मृत्यु, २ घाइते

काठमाडौँ महानगरपालिका- १४ स्थित कलंकीमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् ।
बिहान करिब ३:२५ बजेको समयमा रोकिराखेको बा. ३ ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा. ५ ख ८८६५ नंको अर्काे ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो ।
उक्त घटनामा परी कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी विश्वराज पोखरेलले जानकारी दिए ।
दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि सहिद मेमोरियल अस्पताल कलंकी लगिएकामा उपचारका क्रममा ४:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
डीआइजी पोखरेलका अनुसार नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक सहचालकले चलाएको जानकारीमा आएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीका प्रहरी डीएसपी अपिलराज बोहराले जानकारी दिए । (रासस)
प्रकाशित समय ०९:२७ बजे