गृहपृष्ठ नागरिक समाजका अगुवालाई कानुनी सचेतना

नागरिक समाजका अगुवालाई कानुनी सचेतना

वीरेन्द्रनगरका स्थानीय सीमान्तकृत समुदायका नागरिक समाजका अगुवाहरुलाई कानुनी सचेतना तालिम सुरु गरिएको छ । बुधबार सुरु गरिएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । आवाज संस्था सुर्खेत तथा दलित सेवा संघले आयोजना गरेको कानुनी सचेतना तालिममा २० जना नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।

तालिममा लैङ्गिक समावेशीकरण तथा मानव अधिकार र नेपालको संविधानमा भएका मौलिक हकहरुका विषयमा अधिवक्ता शेरबहादुर केसीले जानकारी दिए । त्यस्तै आवाज संस्था सुर्खेतका निर्देशक पवित्रा शाहीले बालअधिकार, नेपालको संविधान २०७२ मा भएको बालअधिकार सम्बन्धि व्यवस्था, बालअधिकार महासन्धी १९९८ मा संरक्षण सम्बन्धि गरिएको व्यवस्थाका विषयमा प्रस्तुती दिएकी थिइन् । त्यस्तै अधिकारकर्मी सुरेश खड्काले अपाङ्गगता भएका व्यक्तिहरुको अधिकार र उपचार सम्बन्धि व्यवस्थालगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा बोल्दै एकल महिला अधिकारकर्मी ममता नगालले कानुन नजानी कसैलाई पनि सहयोग गर्न नसकिने बताइन् । नागरिक अगुवाहरुले कानुन जान्नैपर्ने अवस्थामा तालिमले राम्रो अवसर दिएको बताइन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कानुन अध्ययन गर्दै आएकी विद्यार्थी यमुना विश्वकर्माले समेत सीमान्तकृत समुदायका लागि निर्माण गरिएका कानुनहरु अनिवार्य जान्नुपर्ने बताइन् ।

‘कानुन सबै जानेको राम्रो,’ उनले भनिन्, ‘अझै सीमान्तकृत समुदायका लागि निर्माण गरिएका जान्नैपर्छ ।’ कानुनी ज्ञान बिना कसैलाई पनि उद्धार र न्याय दिन नसकिने उनले तर्क गरिन् । तीन दिनसम्म सञ्चालन हुने तालिम वीरेन्द्रनगर नगरपालिका तथा संस्थागत सुधारमार्फत न्यायमा पहुँच परियोजना एटुजे प्रोजेक्ट युएनडीपीको आर्थिक सहयोगमा सञ्चालन भएको थियो ।

प्रकाशित समय १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु