गृहपृष्ठ कोटेश्वर-जडीबुटी सडक विस्तार गर्न ठेक्का प्रक्रिया सुरू

कोटेश्वर-जडीबुटी सडक विस्तार गर्न ठेक्का प्रक्रिया सुरू

कोटेश्वर-जडीबुटी सडक विस्तारका लागि संरचना हटाउन सुरु गरिएसँगै आगामी महिना सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु हुने भएको छ । सडक निर्माण गर्ने स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल सारेसँगै त्यहाँ निर्माणस्थल सम्याउने काम भइरहेको छ ।

केही समयभित्रै निर्माणस्थल खाली भइसक्ने भएकाले आगामी महिनामा ठेक्का प्रक्रियामा जाने तयारी गरिएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । निर्माण सुरु भएको छ महिनामा सम्पन्न हुने पनि डिभिजनले जनाएको छ । डिभिजन प्रमुख कुबेर नेपालीका अनुसार सो स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गरिरहेको छ ।

कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालयनजिकै रहेको सार्वजनिक शौचालय काठमाडौं  महानगरपालिकाले अबको १५ दिन भित्रमा हटाइसक्ने बताएको छ । ‘बाँकी काम सकिएपछि अबको एक महिनामा ठेक्का प्रक्रियामा जान सकिन्छ,’ उनले भने ।

सो खण्डमा उत्तर र दक्षिण दुवैतर्फको सडक विस्तार गर्न लागिएको भए पनि पहिले दक्षिणतर्फबाट गर्न लागिएको डिभिजनले जनाएको छ । उत्तरतर्फ पर्ने एउटा घरको मुआब्जाको विषय टुंगिन बाँकी रहेको प्रमुख नेपालीले जानकारी दिए । उनले भने, ‘एक महिनाभित्रमा त्यो विषय पनि टुंगिने हाम्रो विश्वास छ ।’ काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको तयारी भइरहेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ । यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुने अपेक्षा गरिएको छ ।

कोटेश्वरबाट जडीबुटितर्फ लाग्दा देब्रे (उत्तर)तर्फ एक लेन र दाहिने (दक्षिण)तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ । विमानस्थलको सुरक्षालाई ध्यान दिएर बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको हो ।

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु