गृहपृष्ठ सम्बन्धले जोडिएको पर्व तिहार

सम्बन्धले जोडिएको पर्व तिहार

ढुंगा र माटोले बनेका चिटिक्क परेका घर । कमेरो, रातो माटोले पोतिएका ती घरका भित्ताहरु । अनि, हरियो गोबरले लिपेको भुईं । यसरी चिरिच्याँट्ट पारिएका घरहरुले हरेक तिहारमा ग्रामीण परिवेशलाई पर्वको आभाष दिलाउँछ ।

आँगनको डिलमा फुलेका सयपत्री र मखमली लगायतका फूलहरु, दियो र विभिन्न प्रकारका झिलीमिली बत्ती अनि देउसी-भैलोले जोकोहीका लागि हरेक तिहार अमीट स्मृति बनिदिन्छ । तिहारको रौनकताले केटाकेटीदेखि वृद्धवृद्धासमेतको मन फुरुंग हुन्छ । तिहारका पाँच दिनहरु काग तिहार, कुकुर तिहार, गाई तिहार।लक्ष्मी पूजा, गोरु तिहार र भाइटिका यी सबैको आ-आफ्नै महत्व छ । हरेकको धार्मिक महत्व त छ नै पशुपंक्षी, जीवजन्तु र प्रकृतिसँग मानव जातिको सम्बन्ध पनि जोडिएको छ ।

सामूहिक रुपमा देउसी र भैलो खेल्दा छरछिमेकबीचका आपसी मनमुटावहरु समेत अन्त्य भई सम्बन्ध प्रगाढ हुने भएकाले तिहारको सामाजिक महत्व पनि उत्तिकै छ । सहरी क्षेत्रमा तिहार आउनुभन्दा केही दिनअगाडि देखि नै चहलपहल सुरु हुन्छ । किनबेच गर्नेहरुको भीड हुने गर्दछ । विभिन्न बत्ती र फूलहरुले सजाइएका घरहरु हरेक साँझ साँझ झिलीमिली देखिन्छन् । यो वर्ष कोरोनाभाइरस महामारीका कारण गएका वर्षहरुमा जस्तो चहलपहल नभए पनि तिहार भने भित्रिसकेको छ । कोरोना कहरका बिच मानिसहरु तिहार मनाउन जुटेका छन् ।

पहिलो दिन : काग तिहार

तिहारको पहिलो दिन काग तिहार हो । ५ दिनसम्म मनाइने तिहारको यसै दिनबाट सुरुआत हुन्छ । कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारको दिन कागको पूजा गर्ने र खानेकुरा दिने चलन छ । काग करायो भने केही सन्देश सुनाइरहेको विश्वास गरिन्छ । कागले वर्षैभर शुभ समाचार मात्र ल्याओस् भनेर पनि काग तिहारका दिन कामना पनि गरिन्छ । आजको दिन यमदान गर्नाले यमराजको यातनाबाट मुक्त हुने धार्मिक विश्वास पनि रहिआएको छ ।

दोस्रो दिन : कुकुर तिहार

तिहारको दोस्रो दिन कुकुर तिहार हो । यस दिन कुकुरलाई टिका र माला लगाइदिएर मिठो खानेकुरा खुवाइन्छ । भैरवको बहानको रुपमा चिनिने कुकुरलाई आज्ञाकारी, घरको रक्षक जनवारको रुपमा चिनिन्छ । कुनै विपत्ति हुन लाग्दा त्यसको संकेत कुकुरले भुकेर दिन्छ भन्ने जनविश्वास छ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ट सम्बन्ध रहेको छ । जुन कुरा पुराणमा समेत उल्लेख छ ।

तेस्रो दिन : गाई तिहार अर्थात् लक्ष्मी पूजा

तिहारको तेस्रो दिन लक्ष्मीको पूजा गरिन्छ । अघिल्ला दुई दिनको तुलनामा गाई तिहार अर्थात् लक्ष्मी पूजा अलि विशेष हुन्छ । गाई तिहारको दिनमा बिहानै हरियो गोबरले लिपेर घरलाई शुद्ध पारिन्छ । त्यसपछि गाईको पुजा गरिन्छ । हिन्दु धर्मावलम्बीहरुले गाईलाई माता समान मान्ने गर्छन् । यस दिन सेलरोटी पकाइन्छ । घरमा झिलीमिली बत्तीहरु सजाइन्छ । बेलुकी लक्ष्मीको पूजा अर्चना गरेर घरमा भएका नगद, सम्पूर्ण द्रव्य, सुन, गरगहना लगायतका सम्पत्तिहरु लक्ष्मीको चरणमा राख्ने र पूजा गर्ने गरिन्छ ।

लक्ष्मी पूजाकै दिन भैलो खेल्नका लागि घरआँगनमा भैलेनीहरु आउने गर्दछन् । औसींको कालो रातमा पनि घर आँगन र वरिपरि लहरै बलेका दियोको प्रकाशले आकाशका ताराहरु नै धर्तीमा आएजस्तो अनुभूति गराँउछ । त्यसै रात विभिन्न रंगहरु प्रयोग गरेर आँगनीमा विभिन्न आकारप्रकारका रंगोली बनाइन्छ । लक्ष्मी पूजाको दिन लक्ष्मी माता पृथ्वीलोक आउने र आशिष दिएर जाने विश्वास रहिआएको छ । त्यसैले गाई तिहारको दिनमा तुलसी मोठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारुपी रंगीन डोबहरुका छाप घरका भण्डार कोठासम्म बनाइन्छ । यिनै पाइलाका छापअनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास छ ।

चौंथो दिन : म्ह पूजा, गोरु तिहार

तिहारको चौंथो दिन नेवार समुदायको विशेष पूजा म्हपूजा र गोरु तिहार हो । नेवार समुदायले बडो धुमधामका साथ म्हपूजा मनाउने गर्छन् । नेवारी समुदायमा ‘म्ह’को अर्थ आत्मा, देह या शरीर भनेर बुझिन्छ । म्हपूजाको अर्थ आफ्नो देहप्रति आदरयुक्त याचना हो । यसै दिन हल गोरुलाई फूलमाला लगाएर पूजा गरिन्छ । साथै गोरुलाई मिठा-मिठा खानेकुरा खुवाइन्छ । गाउँघरमा अझै पनि खेतबारी जोत्नका लागि गोरु प्रयोग गरिन्छ । त्यसैले आजको दिन गोरुलाई सम्मानसहित पूजा गर्ने चलन रहेको छ । तिहारको विशेषतामध्ये देउसी पनि एक हो । आजकै रात घरघरमा देउसी खेलिन्छ

पाँचौ दिन : भाइटीका

तिहारको अन्तिम भाइटीका हो । माइतीबाट कर्मघर गइसकेका चेलीहरुलाई पनि यस दिन दाजुभाइले बोलाउँछन् । लामो समय भेटघाट गर्न नपाएका चेली-माइतीलाई भाइटीकाले मिलन गराउने गर्दछ । चेलीहरुले आफ्ना माइतीलाई श्रद्धापुर्वक भाइटीका र माला लगाइदिन्छन् ।

यसरी विविध दृष्टिकोणबाट पनि तिहार सम्बन्ध नै सम्बन्धसँग गाँसिएको पर्व हो । आपसमा माया, सद्भाव साटसाट गरिन यो चाड साच्चै रमाइलो हुन्छ । यस पर्वको विशेषताले पनि हर समुदायलाई आपसमा जोडेको हुन्छ । फूलैफूल र झिलीमिली बत्तीको पर्व भएकाले पनि तिहार पर्वमध्ये विशेष हुन्छ ।

प्रकाशित समय १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु