गृहपृष्ठ नेपाल-चीन सिमानामा पहिलोपटक पुग्यो जनप्रतिनिधि र सुरक्षा प्रमुखहरुको टोली

नेपाल-चीन सिमानामा पहिलोपटक पुग्यो जनप्रतिनिधि र सुरक्षा प्रमुखहरुको टोली

तिब्बत सिमानामा जनप्रतिनिधि र सुरक्षा प्रमुखहरु पहिलोपटक पुगेर फर्केका छन् । नेपाल–चीन सिमानाको ५६ नं. पिलरको निरीक्षण गरी सांसदसहित सुरक्षा प्रमुखहरु सदरमुकाम फर्केका हुन् ।

दोलखाको दुर्गम गाउँ लप्चीमा जनप्रतिनिधि सहितका जिल्लाका सुरक्षा प्रमुखहरुको टोली पहिलोपटक पुगेका छन् । विगू गाउँपालिका वडा नं. १ लप्चीमा संयुक्तहरुमा पहिलोपटक पुगेर टोलीले स्थानीयसँग अन्तक्र्रियासमेत गरेका छन् । शुक्रबार सांसद विशाल खड्का, विगू गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्का, प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी, नेपाली सेनाको तारा दल गणका गणपति अनिल केसी, जिल्ला प्रहरी प्रमुख रेवती रमण पोखरेल, सशस्त्र प्रहरी बल १८ नं. गुल्म प्रमुख बुद्धिकृष्ण महर्जन र प्रमुख अनुसन्धान अधिकृत राजन शर्मा सापकोटा पुगेका हुन् । हेलिकप्टरमार्फत लप्ची पुगेको टोलीले स्थानीयसँग स्थानीयसँग छलफल गरी नेपाल चीन सिमाको ५६ नं. पिलरसम्म पुगेर सिमाना निरीक्षण गरेको सांसद विशाल खड्काले जानकारी दिए ।

केही वर्षयता सुरक्षा निकायका प्रमुखहरु आ-आफ्नो ढंगले पुगे तापनि संयुक्त रुपमा जनप्रतिनिधिहरु सहित पुगेको पहिलोपटक हो । गाउँपालिका अध्यक्ष खड्का यसअघि तिब्बतको ठिङ्गी जिल्लामा सीमासम्बन्धी वार्ता गर्न ङ्याङ्लुङ हुँदै तिब्बतको फलाक पुगेका थिए । लामाबगर फलाक तातोपानी नाका खुल्नुभन्दा पहिला नेपालको तिब्बतसँगको प्रमुख व्यापारिक नाकासमेत हो ।

 पहिलोपटक राज्यको उच्चस्तरको टोली पुग्दा स्थानीय पनि खुशी भएका छन् । टोलीसँग स्थानीय लामाबगरबाट सहजै हिँड्न सक्ने बाटो बनाउन र भुकम्पले क्षतिग्रस्त गुम्बाको पुनर्निर्माणको माग गरे । विगूमा रहेको च्छोरा गेफेलिङ गुम्बा ८ सय ५० वर्ष पुरानो गुम्बा हो । यो ठाउँ तिब्बतीय बौद्धमार्गीहरुको १० मुख्य गन्तव्यमध्ये एक वर्ष हो । हरेक १२ वर्षमा आउने भेडा वर्ष बौद्र्धमार्गीहरुको प्रमुख गन्तव्यको रुपमा पर्छ ।

सांसद खड्काले पहिलोपटक लप्ची पुग्दा असाध्यै आनन्दको अनुभूति भएको बताए । नेपाल तिब्बत सिमानामा रहेको यो गाउँ दोलखाको सबैभन्दा दुर्गममा पर्छ । लप्ची क्षेत्रमा ५६, ५७, ५८ र ५९ न. को नेपाल–चीन सीमा स्तम्भ रहेको छ । यसअघि नेपाली सेनाका गणपति, प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा प्रमुखहरु २ वर्षअघि पुगेका थिए । तर जनप्रतिनिधिहरुसँगै पुगेको पहिलोपटक हो । यस गाउँमा वडा अध्यक्ष हिरण्डे गुरुङ गत वर्ष हिउँदभित्र रहेको ५७ नं. पिलर फेला पारेर फर्केका थिए ।

सांसद खड्काले यस क्षेत्रको सहज बाटो निर्माण गर्न सके बर्सेनि हजारौं बुद्र्धमार्गी पर्यटकहरु भ्रमण गराउन सक्ने अवस्था रहेको बताए । तर यस क्षेत्रको भ्रमणका लागि गृह मन्त्रालयको अनुमति लिनुपर्छ । लप्ची पुग्न निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध स्थलबाट २ दिन लाग्छ । चौरीपालन मात्र व्यवसाय रहेका लप्चीमा ३० घरमा २ सय जना जतिको बसोबास रहेको छ । हिउँदमा लुम्नाङमा बसोबास गर्ने वर्षातमा लप्चीमा बसोबास गर्छन् । यस क्षेत्रको लप्ची खोलामा जलविद्युत आयोजनाहरु निर्माण तयारी रहेकाले टोलीले त्यसको समेत निरीक्षण गरेका हुन् ।

प्रकाशित समय १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु