गृहपृष्ठ रानीपोखरीमा भोलि भाइटीका, बिहानदेखि साँझसम्म बालगोपालेश्वर दर्शनको व्यवस्था

रानीपोखरीमा भोलि भाइटीका, बिहानदेखि साँझसम्म बालगोपालेश्वर दर्शनको व्यवस्था

काठमाडौँ महानरपालिका(कामपा) र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यो वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको निर्माण कार्य सम्पन्न भएसँगै पाँच वर्षपछि बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको हो ।

२०७२ साल वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण हालै सम्पन्न भएको थियो । रानीपोखरीमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्छन् । भाइटीकाकै लागि महानगरपालिकाले मन्दिर र पोखरी क्षेत्रलाई बेहुलीझैँ झिलिमिली बनाएको छ भने सुरक्षा व्यवस्था पनि मिलाइएको वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनर्निर्माण गर्न अघिल्लो वर्ष असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनर्निर्माणको सुरुवात रानीपोखरीबाटै गरेका थिइन् ।

भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो । हरेक वर्ष भाइटीकाको लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर-पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर-पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण-पूर्व कुनामा देवीको मन्दिर र दक्षिण-पश्चिममा सोह्रहाते गणेश स्थापना भएको इतिहास छ ।

प्रकाशित समय १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु