गृहपृष्ठ एकै दिन ३९ ठाउँमा आगलागी, १३ ठाउँमा लक्ष्मीपुजाको दियोबाट
एकै दिन ३९ ठाउँमा आगलागी, १३ ठाउँमा लक्ष्मीपुजाको दियोबाट

आइतबार एकैदिन ३९ वटा आगलागीका घटना भएको, तीमध्ये १३ वटा घटना त लक्ष्मीपुजा गर्दा बालिएको दियोबाट भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आगलागी परी १ जनाको मृत्यु मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । यस्तै, २ करोड रूपैयाँ बढीको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरीमा एउटा फुसको घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी १५ वर्षकी किशोरीको मृत्यु भएको हो ।
प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि कात्तिक ३० गतेसम्म देशभरि ८५६ वटा आगलागीका घटना हुँदा १६ जनाको मृत्यु भइसकेको छ भने १६९ जना घाइते भएका छन् । यी आगलागीका घटनाबाट ७३ करोड ४४ लाख रूपैयाँ मूल्यबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । यी आगलागीका घटनाबाट ४४० वटा चौपायाको क्षति भएको जनाइएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार यो सात महिनाको अवधिमा आगलागी, बाढी, पहिरो, चट्याङ, अविरल वर्षा, सर्प दंशसहितका प्राकृतिक विपदमा परी ४७८ जनाको मृत्यु, १०१ जना बेपत्ता र ८३७ जना घाइते भएका छन् ।
यी प्राकृतिक विपदले अनुमानित ९१ करोड ३३ लाख ७४ हजार रुपैयाँबराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ ।
गत वर्षायाममा पहिरोमा परी ३०१ जनाको मृत्यु भएको ६४ जना घाइते भएको र ६४ जना बेपत्ता भएका छन् भने बाढीमा परी ९७ जनाको मृत्यु, ५२ जना घाइते र ३७ जना बेपत्ता भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
यस्तै, अविरल वर्षाले संरचनाहरू क्षति हुँदा १५ जनाको मृत्यु र ५६ जना घाइते भएको , देशभरि २१६ वटा चट्याङ्गका घटनामा परी ६५ जनाको मृत्यु भएको २१३ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।
यसैगरी, सर्पले टोकेर २१ जनाको मृत्यु भएको, ३९ जना घाइते भएको, जनावरको आक्रमणमा परी १८ जनाको मृत्यु भएको र १२४ जना घाइते भएको पनि प्राधिकरणले उल्लेख गरेको छ ।
प्रकाशित समय १७:२८ बजे