गृहपृष्ठ कमलपोखरी संरक्षणको काम समयमा सकिएन

कमलपोखरी संरक्षणको काम समयमा सकिएन

Kamal Pokhari

जीर्ण भएको काठमाडौं महानगरपालिका–१ मा पर्ने ऐतिहासिक कमलपोखरीको संरक्षणका लागि मर्मतको काम तोकिएको समयमा नसकिएको स्थानीय जनप्रतिनिधिले स्वीकार गरेका छन् ।

स्थानीय तहको नेतृत्वमा कमलपोखरी स्पोर्टस क्लबलगायत संस्थाका समन्वयमा मर्मत तथा संरक्षणका काम गरिएको छ ।  कामपा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले गत असार मसान्तभित्र जीर्णद्धार सक्नुपर्नेमा कोभिड–१९ को महामारीको प्रभावका कारण समय सीमाभित्र काम नसकिएको बताए ।

पोखरीको आसपासमा बनेका ठूला भवन तथा कार्यालयले त्यसको सौन्दर्यमा कमी आएको छ । पोखरीको नाममा करिब ४० रोपनी क्षेत्रफल रहेको भए पनि विभिन्न समयमा अतिक्रमण भई अहिले १८ रोपनीमा सीमित छ ।

विगत केही वर्षयता कमलपोखरीमा छठ पर्वका अवसरमा ब्रतालुहरूका लागि पुजाको घाट व्यवस्थापन गर्ने गरिएकोमा यस वर्ष कोभिड-१९ महमारीका कारण त्यहाँ पुजा नहुने भएको छ ।

स्थानीय समाजसेवी अरुणसिंह केसीले लामो समयसम्म स्थानीय तहको निर्वाचन नभएकाले पोखरीको आवश्यक संरक्षण हुन नसकेको बताउँदै केही वर्ष अगाडि वरवपरबाट बगेर आएको ढल पोखरीमा संकलन भई वरपर दुुर्गन्ध फैलिएपछि स्थानीयवासी र क्लबको समन्वयमा सरसफाइ गरी केही व्यवस्थित बनाइएको बताए ।

विभिन्न क्लबले केही वर्षदेखि पोखरीमा माछापालन गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको क्लबले व्यावसायिकरुपमा माछा बिक्री गरी आउने पैसालाई आम्दानीको स्रोत बनाएको छ । क्लबले हालै दुई लाख रूपैयाँ बराबरको माछा बिक्री गरेको थियो ।

स्थानीय विकास तथा सामाजिक कार्य सञ्चालन गरेको क्लबले स्थानीय तहमा विभिन्न खेलकूदको विकास गरेको छ । लकडाउनको अवधिमा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष भीमसेन मैनालीले जानकारी दिए । (राससको सहयोगसहित)

 

प्रकाशित समय १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु