गृहपृष्ठ जनप्रतिनिधि भन्छन्‑ बुझेरै गरिरहेका छौँ, नागरिकले जे भन्छन्, त्यो गर्न सकिँदैन

जनप्रतिनिधि भन्छन्‑ बुझेरै गरिरहेका छौँ, नागरिकले जे भन्छन्, त्यो गर्न सकिँदैन

सुर्खेतका स्थानीय जनप्रतिनिधिले आफूहरुले जानर, बुझेर नै विकास निर्माणका कामहरु गरिरहे पनि नागरिकबाट अनेकन् आरोप लाग्ने गरेको बताएका छन् । नेपाल युवा संस्था (आयोन) ले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको सामाजिक उत्तरदायित्व : समावेशिता र युवा जवाफदेहिता विषयक कार्यक्रममा उनीहरुले बढी पारदर्शी बन्दा पनि समस्या भएको दुखेसो गरे ।

वीरेन्द्रनगर नगरपालिका ४ का अध्यक्ष नीलकण्ठ खनालले कतिपय अवस्थामा बढी पारदर्शी बन्दा धेरै समस्या व्यहोर्नुपरेको बताए । ‘म जनप्रतिनिधि हुँ, केही नजानेर र योजना नबनाएर हिँडेको छैन, नागरिकले जे भन्छन् त्यही गर्न सकिँदैन,’ उनले भने, ‘वडाका विकासे कार्यक्रममा उपभोक्ता समितिको पदाधिकारी बन्नलाई तँछाडमछाड हुने भएकोले हामीले प्रायः योजनामा टेन्डर गर्ने गरेका हौँ ।’ नागरिकले आफूले सिधै पदाधिकारी बन्न नपाएका कारण आक्रोस पोख्ने गरेको उनको आरोप छ ।

वीरेन्द्रनगर नगरकार्यपालिका सदस्य डण्ड बिकले पनि आफूहरुले पारदर्शी तरिकाले काम गरेको बताए । ‘हरेक विकास निर्माणमा प्राविधिकसहित काम भएका छन्,’ उनले भने, ‘तर जनताले नबुझेरै विरोध गरेको पाइन्छ ।’ उनले विरोधका नाममा विरोधभन्दा पनि विधि मिचिएको ठाउँमा विरोध गर्न सुझाव दिए ।

कार्यक्रमका अन्य सहभागीले सार्वजनिक निकाय पारदर्शी हुनैपर्ने बताए । सार्वजनिक पदमा बसेका व्यक्ति र कार्यालयले सेवा प्रवाह र सूचना प्रवाहमा कन्जुस्याइँ गर्ने गरेको उनीहरुको आरोप छ । कार्यक्रममा सञ्चारकर्मी गोविन्द खत्रीले सार्वजनिक निकायले विकासका हरेक गतिविधिमा सबै वर्ग र निकायलाई अर्थपूर्ण सहभागिता गराउनुपर्ने बताए । ‘लोकतन्त्रको सुन्दर पक्ष नै अर्थपूर्ण सहभागिता हो,’ उनले भने, ‘सूचना प्रवाह त झनै अत्यावश्यक र महत्वपूण पक्ष हो ।’ कतिपय अवस्थामा सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण कार्यक्रममा सहभागी हुनुपर्ने व्यक्ति तथा समुदायले नै सूचना नपाउने गरेको उनले बताए ।

युवा नेतृ विनिता बोगटीले नागरिकसमेत कानुनका विषयमा जानकार हुन जरुरी भएको बताइन् । ‘सार्वजनिक निकायले प्रक्रिया मिच्नु हुँदैन,’ उनले भनिन्, ‘ती निकायलाई पारदर्शी बनाउने कुरामा सचेत नागरिकले भूमिका निभाउनुपर्छ ।’ सबैले आ-आफ्नो क्षेत्रबाट कानुनको पालना गर्न सके एक-अर्कालाई आरोप लगाउनै नपर्ने उनको टिप्पणी छ ।

कार्यक्रममा नागरिक समाज अगुवा आयोनका सदस्य संस्थाका प्रतिनिधि, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता थियो ।

प्रकाशित समय ०७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु