गृहपृष्ठ राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन
राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लिखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरुलगायतलाई मन्त्रालयमा बोलाएर अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चुनौती सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगरिने बताएका हुन् ।
नियतवश त्रुटी गर्ने, कमजोरी गर्ने र असल मनसायबाट विचलित हुने कर्मचारीलगायत जो कोहीलाई पनि नछाडिने पनि स्पष्ट पारे । ‘डर, त्रास सिर्जना गरेर कर्मचारीलाई काममा लगाइँदैन,’ अर्थमन्त्रीले भने, ‘योग्यता र क्षमताको कदरसहित काम गर्ने अनुकूल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने सरकारको उद्देश्य हो ।’
कठिनाइ र समस्या समाधान गर्नुपर्ने ठाउँमा मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ र लक्ष्य पूरा भए सम्मान गर्छ तर पूरा नभए कर्मचारी दण्डित हुनुपर्ने उनको स्पष्टोक्ति छ । अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिँदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गरे । उनले इमानदार र सक्रिय भएर लाग्न पनि निर्देशन दिए ।
अर्थमन्त्री पौडेलले समस्या र समाधानका बारेमा कर्मचारीहरु जानकार रहेको बताए । आफ्नै तहमा समाधान गर्न र आवश्यकता परेमात्र नेतृत्वलाई भन्न उनले आग्रह गरे । परिणाम निकाल्ने गरी काम गर्न कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा उनले विशेष जोड दिए । त्यसका लागि आपसी प्रतिस्पर्धामा काम गर्न उनको सुझाव छ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी कोभिड–१९ ले सिर्जना गरेका चुनौतीसँग जुध्दै अर्थतन्त्रलाई गतिशील बनाउन दृढताका साथ काम गर्न पनि उनले कर्मचारीलाई आग्रह गरे ।
भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने चेतावनी दिए । त्यस्तै राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरे । कार्यक्रममा सयभन्दा बढी कर्मचारीको सहभागिता थियो ।
प्रकाशित समय ०७:४५ बजे

















