गृहपृष्ठ प्रदेश राजधानीको एकीकृत विकासका लागि पाँचवटा क्षेत्र प्राथमिकतामा

प्रदेश राजधानीको एकीकृत विकासका लागि पाँचवटा क्षेत्र प्राथमिकतामा

संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको त्रिपक्षीय समन्वय

वीरेन्द्रनगर बजार ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको विकासको लागि तीन तहका सरकार जुटेका छन् । संघीय सरकार, प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको त्रिपक्षीय समन्वयमा एकीकृत विकासको थालनी गर्न लागिएको हो । वीरेन्द्रनगर नगरपालिकामा सडक, खानेपानी, पर्यटन विकास, हरियाली नगर तथा विमानस्थल बिस्तारका लागि योजना बनाइएको हो । जसका लागि कर्णाली प्रदेश सरकारले एक अर्ब एक करोड तथा संघीय सरकारले ५१ करोड बजेटसमेत विनियोजन गरेको छ ।

सुर्खेत विमान स्थलको बिस्तारका लागि कर्णाली प्रदेश सरकारले पचास करोड तथा संघीय सरकारले ५१ करोड रकम विनियोजन गरेका हुन् । त्यस्तै नगरको खानेपानी, सडक, ढल, पर्यटन लगायतको कामका लागि प्रदेश सरकारले एकमुष्ट रकम ५१ करोड रुपैयाँ विनियोजन गरेको छ । वीरेन्द्रनगरमा खानेपानी समस्यालाई हल गर्नका लागि भेरी तथा झुप्राखोलाको पानीलाई लिफ्टिङ गरी नगरमा वितरणको व्यवस्था मिलाउने, नगरका सबै सडक कालोपत्रे गर्ने, नगरलाई हरियाली नगरको रुपमा विकास गर्ने, ढललाई व्यवस्थित गर्ने, नगरका प्रमुख पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने र विमानस्थलको बिस्तार गर्ने योजनासहित काम अघि बढेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

मन्त्री ज्वालाले अब वीरेन्द्रनगर सुन्दर सहरका रुपमा विकसित हुने बताए । ‘राजधानीको विकास भए मात्रै प्रदेशको विकासको सुरुवात हुन्छ,’ उनले भने, ‘त्यसैले तीनै तहका सरकार मिलेर पहिले राजधानीको विकास गर्नतर्फ लागेका हौं ।’ मन्त्री ज्वालाले पहिलो चरणमा पाँचवटा क्षेत्रको विकासका काम हुने बताए । उनका अनुसार तत्काल खानेपानीको व्यवस्था, नगरका सबै मुख्य सडक कालोपत्रे, पर्यटन क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार विकास हरियाली तथा ढल निकास र विमानस्थलको विस्तारको काम तत्काल अगाडि बढ्नेछन् । सुरक्षित सहर र सुन्दर सहर निर्माणका लागि तीनै तहका सरकारले मिलेर काम गर्न लागेको मन्त्री ज्वालाले बताए ।

एकीकृत विकासका लागि १८ निर्णय

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाको संयोजकत्वमा गत ३ र ८ गते बसेको बैठकले विभिन्न अठार वटा निर्णय गरेको छ । वीरेन्द्रनगरलाई सुन्दर सहरका रुपमा विस्तार गर्नका लागि बैठकले तत्काल कार्यान्वयन गर्नेगरी उक्त निर्णय गरेको मन्त्री ज्वालाले जानकारी दिए । समितिको बैठकले सुर्खेत उपत्यकामा खानेपानीको दिगो आपूर्तिका लागि प्रतिक्षारत भेरी लिफ्ट आयोजनाको सम्बन्धमा कर्णाली प्रदेश सरकारको सम्बन्धित मन्त्रालय तथा कार्यालयका प्रतिनिधिसहित शीघ्र छलफल गर्ने, प्रदेश राजधानीको सडकको स्तरोन्नतिको कार्यलाई हालसम्मको प्रगति समीक्षासहित प्रमुख सहरी क्षेत्र मंगलगढी चोकदेखि गणेशचोक सडक, मंगलगढीचोकदेखि लाटीकोइली सडक र प्लानिङ क्षेत्रका बाँकी सडकको कालोपत्रे गर्ने कार्यलाई तत्काल अघि बढाउने, सुर्खेत उपत्यकामा रहेका प्रमुख पर्यटकीय क्षेत्रको विकासका लागि सम्बन्धित प्रदेश मन्त्रालय तथा कार्यालय र नगरपालिका सहितको सहभागितामा छलफल गरी एकीकृत अवाधारणा विकास गरी कार्य अघि बढाउने निर्णय भएको हो ।

बैठकका निर्णय सुनाउँदै मन्त्री ज्वाला ।

त्यस्तै वीरेन्द्रनगरका प्रमुख सडक धुलियाबिट-बांगेसिमल सडक, गणेशचोक-मंगलगढी सडक प्लानिङ क्षेत्रका सडकमा हरियाली फुटपाथ र बिजुली तार, सीसी क्यामेरा, सोलार लाइटको कार्य नगरपालिकाको नेतृत्वमा शीघ्र अघि बढाउने र स्रोतमा प्रदेश सरकारसँग साझेदारी गर्ने, उल्लेखित कार्यका लागि नगरपालिकाले शीघ्र ठोस प्रस्ताव तयार गर्ने, प्रदेश सरकारले विनियोजन गरेको एकीकृत कार्यक्रमबाट सम्बन्धित मन्त्रालय कार्यलयसँग शीघ्र छलफल गरी थप स्रोतसमेत पहिचान गर्ने र नेपाल सरकार तथा कर्णाली प्रदेश सरकारबीच भएको एमओयूबमोजिम सुर्खेत विमानस्थलको स्तरोन्नति र बिस्तार कार्यलाई आवश्यक सहजीकरण गर्ने निर्णय भएको हो ।

मंगलबार बसेको समितिको बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । जसमा सुर्खेत उपत्यकाका खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न पूर्ववत समझदारी भएअनुसार भेरी झुप्रा दोभानबाट लिफ्टिङ गर्ने र हालको वितरण प्रणालीमा पानी आपूर्ति गराउने कार्यको ठेक्का लगाउने काम प्रदेश सरकारसागको सहकार्यमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले शीघ्र गर्ने व्यवस्था मिलाउने, सुर्खेत उपत्यकामा पानी वितरणलाई आधुनिक तवरबाट दीर्घकालीन विकास गर्न भएको अध्ययन प्रतिवेदन प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागसँग माग गर्ने, खानेपानीसम्बन्धी यस छलफलको निर्णय कार्यान्वयनमा सबैले सक्रियता लिने र मंसिर १३ गते पुनः बैठक बस्ने, संघीय र प्रदेश सरकारको सहलगानीमा समपुरक आयोजनाको रुपमा अघि बढेको वीरेन्द्रनगरको प्लानिङ क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्यलाई शीघ्रता दिई गुणस्तरको अनुगमन गर्दै १ महिनाभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने निर्णय समन्वय बैठकले गरेको हो ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा वीरेन्द्रनगर नगरपालिकासँग सहलगानीमा अघि बढेको ३ वटा आयोजना नेताचोकदेखि आँखा अस्पतालसम्म जोड्ने सडक कालोपत्रे गरी नाला र फुटपाथ निर्माण, मंगलगढी चोकदेखि क्याम्पसरोडसम्म जोड्ने सडक, कालेपत्रे गरी नाला र फुटपाथ निर्माण र भ्याली भ्यू होटलदेखि उत्तर पिपलचौतारीसम्म सडक कालोपत्रे, नाला र फुटपाथ निर्माणको बाँकी कार्य नगरपालिकाले शीघ्र अघि बढाई कार्य सम्पन्न गर्ने र प्रदेश सरकारबाट पठाउनुपर्ने रकम शीघ्र हस्तान्तरण गर्ने व्यवस्था मिलाउने, वीरेन्द्रनगरको प्लानिङ क्षेत्रमा रहेको सरकारी कार्यालय क्षेत्रमा बाँकी खण्डको कालोपत्रे गर्ने कार्यको टेण्डर प्रक्रिया भौतिक पूर्वाधार विकास मन्त्रालयले शीघ्र अघि बढाउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

त्यस्तै वीरेन्द्रनगरको मुल बजारको गणेशचोकदेखि काठको पुलसम्मको कालोपत्रे गर्ने कार्यको टेण्डर प्रक्रिया वीरेन्द्रनगर नगरपालिकाले शीघ्र अघि बढाउने, वीरेन्द्रनगर मुल बजारको गणेशचोक काठको पुलदेखि मंगलगढीचोक सम्मको सडक खण्डको कालोपत्रे गर्ने कार्यको नियमानुसार टेण्डर प्रक्रिया प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले शीघ्र अघि बढाउने व्यवस्था मिलाउने र आवश्यक प्राविधिक सहयोग वीरेन्द्रनगर नगरपालिकाले गर्ने, वीरेन्द्रनगर मंगलगढीचोकदेखि लाटीकोइलीसम्म काँक्रेबिहार क्षेत्र पुग्ने सडक कालोपत्रे गर्ने कार्य नियमानुसार (इष्टिमेट करिब १७ करोड रहेको) प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने, वीरेन्द्रनगरको एरिचौक-पतेनी-जैपुर सडक, देउतीबज्यै-चौखेढुंगा-काँक्रेबिहार सडक र लाटीकोइली शिवमन्दिरदेखि तल्लो पर्सेनी सडक स्तरोन्नति एवं कालोपत्रेको कार्य प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा गर्ने र यसको लागि विस्तृत छलफल आगामी बैठकमा गर्ने, सुर्खेत उपत्यका चक्रपथ निर्माण आयोजना प्रदेश सरकारलाई हस्तान्तरण भएकाले यसलाई उच्च प्राथमिकता दिई अघि बढाउने, वीरेन्द्रनगर नगरपालिकाको धुलियाबिट-बांगेसिमल, मुख्यबजार र प्लानिङ क्षेत्रमा लाइटिङ र डिजिटल ब्युटिफिकेशन र सीसी क्यामरा, विद्युतीय तार व्यवस्थापनलगायत अत्यावश्यक कार्यको शीघ्र अध्ययन वीरेन्द्रनगर नगरपालिकाले गर्ने र प्रदेश सरकारसँग उपयुक्त सहलगानी प्रस्तावसहित पुनः छलफल गर्ने र सुर्खेत उपत्यकास्थित पर्यटकीय क्षेत्र विकास देउतीबज्यै, सहिद पार्क, बुलबुले क्षेत्र, काँक्रेबिहार क्षेत्र लगायतको विकासका लागि विषयगत मन्त्रालय सहितको सहभागितामा शीघ्र बैठक गर्ने निणर्य समन्वय बैठकले गरेको हो । यसलाई तत्काल कार्यान्वय गर्नका लागि पहल गर्ने मन्त्री ज्वालाले प्रतिवद्धतासमेत गरेका छन् ।

विमानस्थल उत्तरतर्फ बिस्तार हुने

सुर्खेत विमानस्थल उत्तरतर्फ बिस्तार हुने भएको छ । हाल १२ सय ६० मिटर धावनमार्ग रहेको विमानस्थल १५ सय मिटर उत्तरतर्फ बिस्तार हुन लागेको हो । जसका लागि करिब ३० बिगाह जमिन सरकारले अधिग्रहण गर्ने तयारी गरेको छ । सुर्खेतमा ४८ सिटे विमान आउने भए पनि विमानस्थल बिस्तारपछि भने ७२ सिटे विमान आउन सहज हुनेछ । विमानस्थल बिस्तारका लागि नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच एमओयू भइसकेको र तत्काल कार्यान्वयन गर्ने तयारी भएको मन्त्री प्रकाश ज्वालाले बताए । ‘हामीले उत्तरतर्फ कुनै पनि संरचना निर्माण नगर्न भनेका छौं,’ उनले भने, ‘अब तत्काल नागरिक उड्डयन कार्यालयबाट प्राविधिक टोली आएपछि काम सुरु हुन्छ ।’ विमानस्थल बिस्तारको लागि अधिग्रहण गर्ने भनिएको ३० बिगाह जमिनको मुआब्जा पचास प्रतिशत प्रदेश सरकार र पचास प्रतिशत संघीय सरकारले व्यहोर्ने र भौतिक संरचना निर्माणमा भने संघीय सरकारले खर्च गर्नेगरी सम्झौता भएको जानकारी दिए ।

प्रकाशित समय १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु