गृहपृष्ठ भारतीय विदेश सचिव श्रृंगला काठमाडौं आइपुगे, यस्तो छ भेटघाट तालिका

भारतीय विदेश सचिव श्रृंगला काठमाडौं आइपुगे, यस्तो छ भेटघाट तालिका

दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला केही बेरअघि चार्टर्ड विमानमार्फत काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणका लागि विदेश सचिव श्रृंगला नेपाल आएका हुन् ।

श्रृंगलाले आजबाटै उच्चस्तरीय भेटवार्तामा सहभागी हुनेछन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली लगायतलाई भेट्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवस्तरमा दुईपक्षीय विविध विषयमा वार्ता हुनेछ ।

काठमाडौंस्थित भारतीय राजदूतावासकाअनुसार नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाटको क्रममा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुनेछ । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान-प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कालापानी र लिम्पयाधुरा समेटेर पहिले भारत र त्यसपछि नेपालले अद्यावधिक गरेको देशको राजनीतिक नक्साले उत्पन्न गराएको चिसोपनलाई भारतीय विदेश सचिव श्रंगलाको भ्रमणले संवादको तहमा फर्काउने अपेक्षा गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतले दुई देशका समग्र विषयमा भ्रमणका क्रममा कुराकानी हुने र यसले थप उच्चस्तरीय भ्रमणको आदानप्रदानका लागि बाटो खोल्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार ज्यापु समाजको भवन र गोर्खाको एक गुम्बा उद्घाटन कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किने छन् ।

प्रकाशित समय ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु