गृहपृष्ठ आर्थिक पुनरुद्धारका लागि सरकारको क्षमता नै कमजोरः प्रधानमन्त्री ओली

आर्थिक पुनरुद्धारका लागि सरकारको क्षमता नै कमजोरः प्रधानमन्त्री ओली

PM Oli FNCCI_NewsKarobar

प्रधानमन्त्री केपी ओलीले अन्य मुलुकसरह आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउन नसकेको स्वीकार गर्दै सरकारको क्षमता नै कमजोर भएकाले ठूलो राहतका प्याकेज ल्याउन नसकेकाे बताएका छन् ।

बिहीबारबाट सुरु भएको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाकाे उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको क्षमतालाई हेरेर मात्र अपेक्षा गर्न निजी क्षेत्रसँग आग्रह गरे ।

‘उद्यमी-व्यवसायीहरू साथीहरूलाई लाग्छ होला, कति वटा देशहरूका सरकारहरूले उद्योग, व्यवसायका पुनरुत्थानका लागि ठूलो रकम दिइरहेका छन्, नेपाल सरकारले किन दिँदैन?’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल सरकार पनि मनको गरिब होइन, दिने इच्छा नगर्ने होइन, तर नेपाल सरकारको क्षमता, आर्थिक क्षमता, यसको फाइनान्सियल क्षमता पनि साथीहरूले हेर्नुपर्छ ।’

‘आफ्नो अभिभावको गच्छेअनुसारमात्रै अपेक्षा गर्न बान्छनीय हुन्छ, नेपाल सरकारले गच्छेअनुसार वा गच्छेभन्दा एक कदम अगाडि बढेर यहाँहरूलाई साथ-सहयोग पुर्‍याउनका लागि सहयोगको हात बढाउने छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कोभिड १९ कारण अर्थतन्त्रलाई पारेको असरलाई पराजित गरे फेरि माथि उठाउनु पर्ने भन्दै गत आर्थिक वर्षमा सरकारले ८.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको भए पनि सून्यमा मात्रै रहनु पनि हाम्रा लागि सन्तोषका विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले उद्यमी-व्यवसायीमा मेरो र तेरो भन्ने, विभेद सिर्जना गर्ने काम नगर्ने प्रष्ट पारे । ‘राज्यका नजरमा सबै समान छन्, राज्यले कानुनसम्मत ढंगले संरक्षित गर्छ । राज्यले केबल कारोबार स्वच्छ बनाउन अनुरोध गर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

कम्प्युनिष्ट पार्टीका नेताहरूले प्रयोग गर्ने दलाल पुँजी, नवउदारवादी पुँजीवादजस्ता जार्गनप्रतिसमेत प्रधानमन्त्री ओलीले कटाक्ष गर्दै कसैले यस्ता कुरा बोल्यो भन्दैमा वास्ता नगर्न व्यवसायीसँग आग्रह गरे ।

उनले स्वदेशी पुँजी यहाँ कमाएर विदेशमा लगानी नगर्नसमेत उद्यमी-व्यवसायीसँग आग्रह गरे । मुलुकभित्रै विदेशी लगानी आकर्षित गरिरहिएको अवस्थामा बाहिर लगानी खोज्नु सुल्टो बाटो नभएको उनको भनाइ थियो । स्वदेशभित्र लगानीका लागि सरकारले आवश्यक वातावरण तयार पारिदिने प्रधानमन्त्री ओलीले विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले कोभिड-१९ का कारण उत्पन्न संकटबाट बाहिरिनका लागि उपायको खोजी गर्नुपर्ने बताए । बिहीबारबाट सुरु भएको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाकाे उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण अर्थतन्त्रलाई पारेको प्रभावबाट मुक्त गर्न र पुनर्बहालीका लागि पहल गरिनु पर्ने बताए ।

उनले अहिलेको समस्या साझा समस्या भएको भन्दै सरकार, निजी क्षेत्र र सरकारका विभिन्न तहको पहलबाट मात्र यसबाट पार पाउन सकिने उल्लेख गरे ।

कोभिड-१९ महामारीले समग्र विश्वलाई नै सताएको, सबलदेखि कमजोर सबैलाई सताएको भन्दै यसविरुद्धका खोपले आशा जगाएको उनको भनाइ थियो ।

यसविरुद्धका भ्याक्सिनका आविष्कार मानव जातिका लागि उपलब्धी भए पनि यसको पहुँच गरिब र कमजोर देशका कसरी हुन्छ वा त्यो व्यापारिकरण हुन्छ भन्दै प्रधानमन्त्री ओलीले चासो व्यक्त गरे ।

बालुवाटारमा आयोजित कार्यक्रममा स्वीच अन गरेर महासंघको साधारण सभा उद्घाटन गर्नुका साथै पछिल्लो कार्यकालका कार्यप्रगति समेटिएको पुस्तिकाको अनवारण गरेका थिए ।

सोही क्रममा प्रधानमन्त्री ओलीले महासंघका पूर्वअध्यक्षहरू रविभक्त श्रेष्ठ,  पद्मज्योति, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशीलगायतका पूर्वअध्यक्षहरूलाई कदरपत्र प्रदान गरे । पूर्वअध्यक्ष विनोद चाैधरी, महेशलाल प्रधानसहितका केही पूर्वअध्यक्षहरू भने सभामा उपस्थित थिएनन्।

साधारण सभामा महासंघकी अध्यक्ष भवानी राणाले कोरोना भाइरस महामारीका कारण निर्वाध गतिविधि सञ्चालन गर्न नपाइरहेको प्रसंग उल्लेख गर्दै  कोभिडका कारण विश्वकै अर्थतन्त्रलाई संकटमा धकेलिदिएको बताइन ।

यसका कारण मुलुकको अर्थतन्त्रसमेत गम्भीर रूपमा प्रभावित भएको भन्दै अझैसम्म यससँग कसरी जुझ्ने भन्ने कुराको अन्योलमा निजी क्षेत्र रहेको उनको भनाइ थियो ।

संकटकालीन अवस्थामा पनि नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योगहरू सञ्चालन गरी सर्वसाधारणमा असर पार्न नदिन पहल गरिएको उनको दाबी थियो ।

महासंका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिड-१९ को कहर र बन्दाबन्दीले ठूलो असर पारेको तथा यसको सबैभन्दा ठूलो प्रभाव साना तथा मझाैला उद्योगमा परेको चर्चा गरे ।

प्रकाशित समय १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु