गृहपृष्ठ शनिबारदेखि मौसम सफा हुने
शनिबारदेखि मौसम सफा हुने
पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ । आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ । उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम सुरु भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम सुरु हुनेछ ।
आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ । हाल देशका प्रदेश नं १ र २, बागमती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री र अधिकतम तापक्रम २२.६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ०.५ डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५.२ डिग्री सेल्सियस छ ।
प्रकाशित समय १०:५८ बजे

















