गृहपृष्ठ कर्णालीमा बढ्दै आत्महत्या, कतिपय घटनाका कारण भोक र रोग पनि

कर्णालीमा बढ्दै आत्महत्या, कतिपय घटनाका कारण भोक र रोग पनि

आत्महत्या गरेकाहरूमध्ये १५ प्रतिशत बालबालिका

कर्णाली प्रदेशमा तीन आर्थिक वर्षमा ६ सय ८१ जनाले आत्महत्या गरेका छन् । यो संख्या पछिल्लो आवमा बढेको पाइएको छ । रोग र भोकसँग सदियाैंदेखि लड्दै आएका कर्णालीका नागरिकहरुले आत्महत्यालाई समस्याको अन्तिम विकल्पको रुपमा रोजेका कतिपय घटनाहरूले देखाएको छ । जसका कारण समाजमा चिन्ता बढेको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्म झुण्डिएर, विष खाएर तथा हामफालेर उनीहरुले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । यसरी आफ्नो ज्यान आफैँ लिनेहरुमा कर्णालीका दशवटै जिल्लाका रहेका छन् । आर्थिक वर्ष २०७५/७६ मा प्रदेशका दश जिल्लामा २ सय ५० जनाले आत्महत्या गरेका थिए । जसमा विष सेवन गरेर सुर्खेतमा ३५, दैलेखमा दुई, रुकुमपश्चिममा चार, सल्यानमा १५, जुम्लामा तीन, हुम्लामा एक, मुगुमा दुई र कालिकोटमा दुईजना गरी ६४ जना रहेका छन् । त्यस्तै झुण्डिएर सुर्खेतमा ६३, दैलेखमा ३६, जाजरकोटमा ६, रुकुमपश्चिममा २७, सल्यानमा ३५, जुम्लामा सात, मुगुमा चार र कालिकोटमा ६ गरी जम्मा १ सय ८४ जनाले आत्महत्या गरेका हुन् । त्यस्तै हामफालेर कालिकोटमा एक र पानीमा डुबेर रुकुमपश्चिममा एक गरी जम्मा दुईसय ५० जनाले आत्महत्या गरेका हुन् । सो आर्थिक वर्षमा आत्महत्या गर्नेहरुमा महिला ९९, पुरुष १ सय १६, बालक १३ र बालिका २२ जना रहेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा प्रदेशका दश जिल्लामा विष सेवन गरेर, झुण्डिएर तथा हामफालेर २ सय ८६ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ । जसमा विष सेवन गरी सुर्खेतमा १९, दैलेखमा ७, रुकुमपश्चिममा तीन, सल्यानमा १९, जुम्लामा एक र कालिकोटमा तीन जनाले आत्महत्या गरेका हुन् । त्यस्तै झुण्डिएर सुर्खेतमा १ सय ७, दैलेखमा ३६, जाजरकोटमा पाँच, रुकुमपश्चिममा २३, सल्यानमा ४६, जुम्लामा नौ, डोल्पामा एक, हुम्लामा दुई र कालिकोटमा एक गरी २ सय ३० जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । हामफालेर जुम्लामा एक, हातहतियार प्रयोग गरी सुर्खेतमा दुई र जाजरकोटमा एक जनाले आत्महत्या गरेका हुन् । यो आर्थिक वर्षमा आत्महत्या गर्नेहरुमा महिला ८७, पुरुष १ सय ६६, बालक १८ र बालिका १७ जना रहेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ को मंसिर दश गतेसम्ममा प्रदेशका दश जिल्लामा गरी एक सय ४५ जनाले आत्महत्या गरेका छन् । जसमा विष सेवन गरेर सुर्खेतमा १२, दैलेखमा सात, सल्यानमा आठ, जुम्लामा एक र कालिकोटमा दुई गरी ४२ जनाले आत्माहत्या गरेका हुन् । त्यस्तै झुण्डिएर सुर्खेत ४१, दैलेखमा १५, जाजरकोटमा नौ, रुकुमपश्चिममा १५, सल्यानमा २४, जुम्लामा चार, हुम्लामा एक र कालिकोटमा दुई जनाले आत्माहत्या गरेका हुन् । यो आर्थिक वर्षमा हामफालेर सुर्खेतमा एक र कालिकोटमा दुई जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । यो आर्थिक वर्षमा महिला ५५, पुरुष ६१, बालक १४ र बालिका १५ जना रहेको प्रहरीको तथ्यांक छ ।

आत्महत्या गर्नेहरुमा १५ प्रतिशत बालबालिका

तीन आर्थिक वर्षमा कर्णालीमा आत्महत्या गरेकामध्ये पन्ध्र प्रतिशत बालबालिका रहेका छन् । आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७७/७८ सम्ममा आत्महत्या गर्ने ६ सय ८१ जनामध्ये /९९ जना बालबालिका रहेका हुन् । जसमा आर्थिक २०७५/७६ मा आत्महत्या गर्ने २ सय ५० जनामध्ये १३ जना बालक र २२ जना बालिका गरी ३५ जना, आर्थिक वर्ष २०७६/७७ मा आत्महत्या गर्ने २ सय ८६ मध्ये बालक १८ र बालिका १७ गरी ३५ जना र आर्थिक वर्ष २०७७/७८ मा आत्महत्यागर्ने जम्मा १ सय ४५ मध्ये १४ बालक र १५ जना बालिका रहेको प्रहरीको तथ्यांक छ ।

लकडाउनमा दुईसय चार जनाले गरे आत्महत्या

गत चैत्र ११ मा लकडाउन लागू भएदेखि मंसिर पहिलो हप्तासम्मको अवधिमा कर्णालीमा दुईसय चारजनाले आत्महत्या गरेका छन् । विष सेवन गरेर, झुण्डिएर र हामफालेर प्रदेशका दश जिल्लामा गरी दुईसय चार जनाले आत्महत्या गरेका हुन् । जसमा विष सेवन गरेर सुर्खेतमा १३, दैलेखमा नौ, रुकुमपश्चिममा एक, सल्यानमा १७, जुम्लामा एक, कालिकोटमा एकजना गरी ४२ जनाले आत्महत्या गरेका हुन् । झुण्डिएर सुर्खेतमा ६०, दैलेखमा ३०, जाजरकोटमा ६, रुकुमपश्चिममा १८, सल्यानमा ३६, जुम्लामा पाँच, डोल्पामा एक र कालिकोटमा एक गरी १ सय ५७ जनाले आत्महत्या गरेका छन् । त्यस्तै हामफालेर सुर्खेतमा एक, जुम्लामा एक र कालिकोटमा दुईजना रहेका छन् । त्यस्तै सुर्खेतमा औजार प्रयोग गरी एकजनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी माधव श्रेष्ठले आत्महत्या गर्ने विभिन्न कारणहरु पाइएको बताए । आर्थिक रुपमा कमजोर हुनु, चेतनाको कमी हुनु, घरेलु हिंसा लगायतका विविध कारणले आत्महत्या गर्ने गरेको उनले जानकारी दिए । ‘कर्णालीमा लकडाउनको समयमा समेत धेरैले आत्महत्या गरेका छन् । यो समयमा धेरैलाई मनोवैज्ञानिक असर परेरसमेत यस्तो भएको हुनसक्छ,’ एसपी श्रेष्ठले भने । उनका अनुसार लकडाउनमा रोजगारीबाट बञ्चित हुनु, पारिवारिक द्वन्द्वका कारणसमेत आत्महत्या गर्ने गरेका हुन् ।

प्रकाशित समय ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु