गृहपृष्ठ मोरङको मिक्लाजुङमा अज्ञात समूहद्वारा शिक्षकको गोली हानी हत्या

मोरङको मिक्लाजुङमा अज्ञात समूहद्वारा शिक्षकको गोली हानी हत्या

मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार बिहान एक शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका- १, बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डीएसपी कविन्द्रकुमार कार्कीले बताए ।

अहिले घटनास्थलतर्फ प्रहरी टोली गइरहेको डीएसपी कार्कीले जानकारी दिए । ‘हाम्रो टोली घटनास्थलमा पुगिसकेको छैन । घटनास्थलमा टोली पुगेपछि मात्रै विस्तृत जानकारी आउँछ,’ उनले न्युजकारोबारलाई बताए ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार घटनास्थल शिक्षक श्रेष्ठको घरबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पर्छ । ‘घटना भएको ठाउँ गाउँपालिकाकै दुर्गम क्षेत्रमा पर्छ । बाटो राम्रो छैन । मोटरसाइकलमै पनि अढाइ घण्टा लाग्छ,’ उनले भने । मंगलबार बिहान ५ बजे ३/४ जना अपरिचित व्यक्तिले शिक्षक श्रेष्ठलाई घरबाटै अपहरण गरेका थिए । लगत्तै खोजीमा निस्केका स्थानीयवासीले गोली हानी हत्या गरिएको अवस्थामा उनको शव फेला पारेको गाउँपालिका प्रमुख आचार्यले जानकारी दिए ।

शिक्षक हत्यामा संलग्न समूहको पहिचान भइनसकेको प्रहरीले बताएको छ । तर घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।

प्रकाशित समय ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु