गृहपृष्ठ फेरियो जनकपुर विमानस्थल

फेरियो जनकपुर विमानस्थल

धावन मार्ग र पार्किङस्थलसमेत फराकिलो

२०२४ सालमा सञ्चालनमा आएको जनकपुर विमानस्थलले करिब ५४ वर्षपछि मुहार फेरेको छ । साँघुरो र पुरानो टर्मिनल भवनमा यात्रुको चापले थेग्न नसक्ने अवस्थामा भएपछि विमानस्थलको स्तरोन्नति गरिएको हो ।

स्थापना कालमै निर्माण गरिएको जनकपुर विमानस्थलको पुरानो टर्मिनल भवन साँघुरो र अव्यवस्थित हुँदै गएपछि पुनः भारत सरकारकै लगानी र नेपाल सरकारको समन्वयमा जनकपुर विमानस्थलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने योजनासहित अत्याधुनिक टर्मिनल भवनमा बनाइएको हो । निर्माण गरिएको यस टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोगसमेत गरिएको जनकपुर विमानस्थल प्रमुख किरण गौतमले जानकारी दिए ।

निर्माण कार्य सुरु भएको करिब ८ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन तयार भएपछि मंगलबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भवनको उद्घाटन गर्नेछन् । नागरिक उड्ड्यन प्राधिकरणले धावन मार्ग र पार्किङस्थल फराकिलो गर्नुका साथै स्तरोन्नतिको काम गरेको छ । पछिलोसमय बारुणयन्त्र र एक्सरे मेसिनको समेत व्यवस्था मिलाइएको छ । राति उडानको पनि सफल परीक्षण गरिसकेको जनकपुर विमानस्थलमा नेपाल आयल निगमले जहाजमा इन्धन भर्ने व्यवस्था पनि मिलाएको छ ।

अब ५४ वर्ष पुरानो भवनबाटै यात्रुले सेवा लिनुपर्ने बाध्यताबाट यात्रुले अब छुटकारा पाउनेछन् । प्रत्येक उडानमा २ सय रुपैयाँ विमानस्थल कर तिर्ने गरेका यात्रुले सो कर बापतको कुनै सेवा जनकपुर विमानस्थलबाट पाउनबाट वञ्चित थिए । विमान कम्पनीको काउन्टर बीचमै हुँदा यात्रुलाई सानो भवनमा विमान उड्दासम्म प्रतिक्षा गर्नुपर्दा उभिएर समय बिताउनुपर्ने बाध्यता हटेको विमानस्थल प्रमुख गौतमले बताए । उनका अनुसार नयाँ टर्मिनल भवनसँगै जडान गरिएको प्रविधिले रात्रिकालीन समयमा समेत उडान गर्नेछ । आधुनिक टर्मिनल भवनबाट यात्रुले खानेपानी, पार्किङल गायतका सुविधाहरू रहेको उनले बताए ।

प्रकाशित समय ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु