गृहपृष्ठ नौ महिनापछि खुल्यो पशुपति
नौ महिनापछि खुल्यो पशुपति
गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान ६ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् । पुसको चिसोमा पनि सयौं भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले राससलाई जानकारी दिए । घाम लागेसँगै भक्तजनको चाप पनि बढ्न थालेको छ ।
भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । हाललाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गरी दर्शनपछि पनि सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ ।
दर्शनका लागि पशुपतिनाथ मन्दिर खुला गरिए पनि अझै केही समय भक्तजनले रसिद काटेर गरिने विशेष पूजा गर्न पाउने छैनन् । यसैगरी मूल मन्दिर परिसरमा दैनिक हुने गरेको भजनलगायत गतिविधि पनि क्रमशः खुला गरिने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
नौ महिनापछि भक्तजनका लागि आजदेखि दर्शन गर्न खुला गरिने भएपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेका थिए । कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको संकल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो ।
प्रकाशित समय ०९:३६ बजे

















