गृहपृष्ठ मानवसेवा आश्रम निर्माण सुरु, बेसहारालाई सहारा दिन्छौं : अर्थमन्त्री पौडेल
मानवसेवा आश्रम निर्माण सुरु, बेसहारालाई सहारा दिन्छौं : अर्थमन्त्री पौडेल
फाइल तस्बिर
घरबारविहीनका लागि रुपन्देहीको तिलोत्तमामा मानवसेवा आश्रम निर्माण सुरु भएको छ । घरबारविहीन भई सडकपेटीमा बस्न बाध्य भएकालाई गाँस, बाँस र कपासको व्यवस्था गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा आश्रमका लागि भवन निर्माण सुरु गरिएको हो ।
मानवसेवा आश्रम शिलान्यास गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बेसहारालाई सहारा दिने कार्यमा सरकारको सदैव सहयोग रहने बताए । उनले देशका विभिन्न स्थानमा यस्ता आश्रमको स्थापना गरी देशलाई सडक मानवमुक्त बनाउनुपर्ने बताए । सामाजिक सेवाको भावना राखेर गरिने कुनै पनि कार्यमा सरकारको सहयोग रहने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेशलाई सडक मानवमुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले सेवा नै धर्म हो भन्ने भावना राखेर मानव सेवा आश्रमको कामलाई पूर्णता दिनुपर्ने धारणा राखे ।
मोक्षधाम परिसरभित्र निर्माण हुने प्रस्तावित भवनको लागत करिब ६ करोड रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको भवन निर्माण समितिका अध्यक्ष लोकनाथ भुसालले जानकारी गराए । घरबारविहीन भई सडकपेटीमा गुजारा गर्दै आएका व्यक्तिलाई गाँस, बाँस र कपासको व्यवस्था गर्दै आएको मानव सेवा आश्रमले देशका सातवटै प्रदेशमा २१ शाखामार्फत एक हजार १०० भन्दा बढी सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्दै आएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।
प्रकाशित समय ०८:३४ बजे

















