गृहपृष्ठ अपांगता भएका डेढ हजार व्यक्तिलाई रोजगारी दिइने
अपांगता भएका डेढ हजार व्यक्तिलाई रोजगारी दिइने
अपंगता भएका व्यक्तिको रोजगारी परियोजनाबारे जानकारी दिँदै द लेप्रोसी मिसन इन्टरनेसलका कार्यसमिति सदस्य तथा आईडिया नेपालका अध्यक्ष अमर तिमिल्सिना
नेपालभरका झन्डै १ हजार ५०० सय अपांगता भएका व्यक्तिका लागि रोजगारी उपलब्ध गराइने भएको छ । द लेप्रोसी मिनस नेपालले राष्ट्रिय अपांग महासंघ नेपाल र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा सञ्चालित रोजगारविहीन अपांगता भएका व्यक्तिहरुका लागि ऊर्जाशील अवसर (फाउन्ड) परियोजनाअन्तर्गत यस्तो रोजगारी व्यवस्था गर्न लागिएको हो ।
यो परियोजनामार्फत १ हजार ५०० जना अपांगता भएका व्यक्तिहरुका लागि प्रत्यक्ष रुपमा रोजगारी तथा स्वरोजगारमा पहुँच बढाउनका लागि पहल गरिने द लेप्रोसी मिसन नेपालद्वारा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा दिइएको जानकारीअनुसार काठमाडौं, ललितपुर, मोरङ, रुपन्देही र कपिलवस्तुमा रहेका दसै प्रकारका अपांगता भएका व्यक्तिहरुलाई रुची र बजारमा माग भए बमोजिमको तालिम, नोकरी प्रशिक्षण, सहायक सामाग्री, स्वास्थ्य सहायता, बिउ पुँजी प्रदान गर्नुका साथै रोजगारी खोज्न समेत सहजीकरण गरिने छ ।
कार्यक्रममा ललिपुर महानगरपलिकाका उपप्रमुख गीता सत्याललेअपाङ्गता भएका व्यक्तिहरुले यसै त क्षमता अनुरुपको रोजगार नपाइरहेको अवस्थामा कोभिड–१९ को महामारीका कारण रोजगार भएकाहरुको गुमाइरहेको भन्दै यस्तो अवस्थामा यस परियोजनाले अपागंता भएका व्यक्तिहरुको जीवनमा नयाँ आशा जगाउने काम गर्ने बताइन् ।
अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक अवस्थालाई सुदृढीकरण गर्न ललितपुर महानगरपलिकाले सकेको सहयोग गर्ने भन्दै उपप्रमुख सत्यालले अन्य सरोकारवालाहरुलाई पनि समन्वय र सहकार्यका लागि समेत अपिल गरिन् ।
द लेप्रोसी मिसन इन्टरनेसलका कार्यसमिति सदस्य तथा आईडिया नेपालका अध्यक्ष अमर तिमिल्सिनाले अपांगता भएका व्यक्तिहरुलाई रोजगारीमा संलग्न गराउन र रोजगारी भएकाहरुलाई पनि सहज रुपले आफ्नो कार्यक्षमता देखाउन परियोजनाले सहयोग गर्ने बताए ।
पाटन औद्योगिक क्षेत्र, ललितपुर उद्योग वाणिज्य संघ, हस्तकला महासंघ, घरेलु तथा साना उद्योग कार्यालय ललितपुर, ललितपुर महानगरपालिका अन्तर्गतको महिला विकास महाशाखा तथा विभिन्न अपाङ्गताका क्षेत्रमा काम गर्ने संघ-संस्थाका प्रतिनिधिहरु सहभागी उक्त कार्यक्रममा सरोकारवालाहरुले अभियानलाई सफल बनाउन सहकार्य र सम्वन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित समय १५:४३ बजे

















