गृहपृष्ठ प्रहरी हत्याका मुख्य योजनाकार पक्राउ

प्रहरी हत्याका मुख्य योजनाकार पक्राउ

धनगढीमा दुई जना प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार पक्राउ परेका छन् । घटनाका मुख्य योजनाकार भनिएका ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई प्रहरीले घटना भएको अढाई महिनापछि पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका- १०, चकमेलीवासी राना घटनापश्चात फरार थिए ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गत कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए । विकको शव कात्तिक २ गते नेपाल-भारत सीमा भएर बग्ने मोहना नदीमा भेटिएको थियो । त्यसको २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए ।

यसअघि सो घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुपम शमशेर जबराले बताए ।

भारतको बनकट्टी र सरियापारबाट नेपालमा सामान भित्र्याउने र यहाँबाट अवैैध रुपमा भारत सामान पठाउने कार्यमा राना संलग्न रहँदै आएको प्रहरीको दावी छ । ‘भारतमा जे कुराको माग छ । उनले स्थानीय व्यापारीसँग मिलेर त्यो सामान भारत पठाउँथे,’ प्रहरीको भनाइ छ । प्रहरीले तस्करी रोक्न खोजेपछि रानाकै घरमा योजना बनाएर सो घटना घटाएको अभियुक्तले बयान दिएको एसपी जबराले बताए ।

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु