गृहपृष्ठ ‘देशको राजनीतिक उथलपुथलका कारणले पनि आन्दोलन स्थगित गर्नु परेको हो’

‘देशको राजनीतिक उथलपुथलका कारणले पनि आन्दोलन स्थगित गर्नु परेको हो’

फाइल तस्बिर ।

१६ दिनदेखि माइतीघरमा आन्दोलनरत उखु किसानहरुले आन्दोलन स्थगित गरेका छन् । उखु किसान र सरकारबीच सोमबार चार बुँदे सहमति भएपछि किसानहरुले आन्दोलन स्थगित गरेका हुन् ।

सहमतिअनुसार सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने भएको छ । किसानको बक्यौता रकम २१ दिनभित्र उपलब्ध नगराएको खण्डमा कानुनी प्रक्रिया अघि बढाउने सहमतिसमेत भएको छ । वार्ता सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको थियो ।

उखु किसान संघर्ष समितिका अध्यक्ष रामश्वार्थ राय यादवले देशको अहिलेको परिस्थितिको कारणले पनि आन्दोलन स्थगित गर्नुपरेको बताए । उनले भने, ‘सुरुवातमा आन्दोलन गर्दा देशको यो स्थिति थिएन । अहिले संसद विघटन भएसँगै देश उथलपुथल भएको छ, सरकार नै छैन । सरकार नै नभएपछि आन्दोलन गरिरहनुको औचित्य छैन ।’

सरकारको यो स्थिति नभएको भए कुनै हालतमा बक्यौता चुक्ता नभएसम्म आन्दोलन नरोकिने उनको भनाइ छ । ‘हामीले पनि राज्यको यस्तो परिस्थिति भएपछि बुझ्नुपर्छ । त्यही भएर मात्र आन्दोलन रोक्ने मनस्थितिमा पुगेका हौं,’ यादवले भने, ‘यदि २१ दिनभित्र सहमतिअनुसार रकम नदिए थप कारबाही गर्ने भनेर सहमति गरेका छौँ ।’

किसानहरुको भुक्तानी रकम ९० करोड भए पनि सरकारले भने ६६ करोड मात्र रहेको तथ्यांक निकालेको छ । अध्यक्ष यादवका अनुसार हालसम्म ३२ करोड रकम किसानको खातामा जम्मा भइसकेको छ । अब अझै ३३ करोड रकम पाउन बाँकी रहेको उनले बताए । ‘बाँकी रकम २१ दिनभित्र उपलब्ध गराउन गृह मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय तथा कृषि मन्त्रालयबाट पत्र काटिसकेको छ । २१ दिन भनेको त्यति धेरै समय हैन । सरकारलाई विश्वास गरेर सहमति गर्ने निर्णयमा पुगेका हौँ,’ उनले भने ।

योभन्दा अगाडिका वर्षहरुमा पनि सरकारले उखु किसानहरुलाई रकम भुक्तानी गर्छौं भनेर सहमति गरे पनि त्यो पूरा भएको थिएन । सम्झौताअनुसार सरकारले उखुको रकम भुक्तानी नगरेकै कारण योपटक पनि किसानहरु आन्दोलनमा उत्रिएका थिए । पहिलाको सहमतिमा अहिलेजस्तो सहमति पत्र नभएको तर अहिलेको सहमति पत्रमा विश्वास गर्ने आधार भएको उनले बताए ।

कतिपय किसानहरुले आफूहरुलाई थाहा नै नदिई बिचौलियाहरु सरकारसँग मिलेर सहमति गराएको भन्दै आपत्ति जनाएका छन् । तर अध्यक्ष रायले भने सरकारसँग भएका सहमतिप्रति सबै किसानहरु सन्तुष्ट रहेको दावी गरे । सबैजना सँगै छलफलमा बसेर, राय, सल्लाह लिएर नै सरकारसँग सहमतिमा गएको उनले बताए ।

उखु किसान नारायण राय यादवको मृत्युको विषयमा अनुमानको भरमा जे मन लाग्यो त्यही बोल्न नहुने अध्यक्ष यादवले बताए । सरकारसँग भएको सहमतिप्रति असन्तुष्ट रहेका किसान यादवको सोहीकारण हृदयघात भइ मृत्यु भएको भन्ने विषयमा अहिल्यै केही भन्न नसकिने उनको भनाइ छ । किसानहरुलाई खिल्ली उडाउनेहरु पनि भएकाले कसैले विनाअर्थमा त्यस्तो हल्ला फैलाएको हुनसक्ने उनले तर्क गरे ।

प्रकाशित समय १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु