गृहपृष्ठ एनआइसी एशिया बैंकले थाल्यो वीच्याट-पे भुक्तानी सेवा

एनआइसी एशिया बैंकले थाल्यो वीच्याट-पे भुक्तानी सेवा

nicasia nic asia bank

एनआइसी एशिया बैंकले वीच्याट-पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट-पेमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्नका लागि यस बैंक, फष्ट पे टेक्नोलोजी प्रालि र चीनको स्वीफ्टपास कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, फष्ट पेका निर्देशक विप्लव जोशी र स्वीफ्टपासका भाइस प्रेसिडेन्ट म्याजिक टाङले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् वीच्याट-पे मोबाइल वालेट प्रयोगकर्ताहरूले यस बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएका क्यूआर कोड स्क्यान गरेर डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले वीच्याट-पेबाट भुक्तानी प्राप्त गर्न चाहने मर्चेन्टहरूका लागि बैंकको वेबसाइट nicasiabank.com मार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

‘डिजिटल फष्ट बैंक’ बन्ने आफ्नो दीर्घकालीन रणनीतिलाई हासिल गर्नका लागि यस बैंकले ग्राहकहरुमाझ सहज एवं सबल बैंकिङ सुविधाको लागि हालसम्म देशभर १५ हजारभन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरिसकेको छ ।

नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य योगदान दिइरहेका चिनियाँ पर्यटकहरूले यहाँ आएर विभिन्न सेवा तथा सामग्री खरिद गरी सहज रुपमा वीच्याट-पेमार्फत भुक्तानी गर्न सक्नेछन् । चिनियाँ नागरिकहरूमा अत्यन्त लोकप्रिय रहेका उक्त मोबाइल वालेटको सेवा नेपालमा समेत सुचारु हुँदा चिनियाँ पर्यटकहरूलाई अत्यन्त लाभदायी हुने र यसले नेपालमा चिनियाँ पर्यटकहरूले सामग्री तथा सेवामा खर्च गर्ने प्रक्रियामा सहजता ल्याई राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा समेत सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।

प्रकाशित समय १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु