गृहपृष्ठ हुम्लाको सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

हुम्लाको सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

सांकेतिक तस्बिर

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको हो ।

कोरोना संक्रमणको त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसइईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन् । जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि सरकारले कोरोना त्रासका कारण गत वर्षको चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै यहाँका विद्यार्थीको पठनपाठन प्रभावित बनेको थियो ।

हिउँदे ट्युसनको भरमा एसइईको तयारी गरिरहेका विद्यार्थीमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा निराशा छाएको छ । हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिए ।

दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनाएको छ । दिनमा तीनपटक लोडसेडिङ हुन थालेपछि सिमकोटमा दाउराको माग बढेको छ । एक भारी दाउराको सिमकोटमा एक हजार तिर्नुपर्ने अवस्था छ । लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ । (रासस)

प्रकाशित समय ०६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु