गृहपृष्ठ मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र र स्थल होस् : प्रमुुख आयुक्त थपलिया
मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र र स्थल होस् : प्रमुुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिएका छन् । मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको अनलाइन प्रविधिमार्फत जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण दिँदै मतदान स्थलको पुनरावलोकन र त्रुटिरहित मतदाता नामावली प्रकाशन गर्ने कार्यमा विशेष चनाखो हुन सुझाव दिए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपले निर्वाचन गर्नु निर्वाचनका पूर्वशर्त भएकाले यसको पूर्ण पालना हुनुपर्नेमा जोड दिए । निर्वाचनको घोषणा भएको दिनसम्म १८ वर्ष उमेर पूरा मतदाताका सम्बन्धमा द्विविधामा नपर्न तथा मतदाता नामावली निर्वाचन व्यवस्थापनको आधारभूत पक्ष भएकाले शुद्ध र त्रुटिरहित तुल्याउने पाटोमा हेक्का राख्न पनि उनले आग्रह गरे ।
मतदाता नामावली अद्यावधिक र मतदान स्थल तथा केन्द्र पुनरावलोकनमा सरोकारवालासँग प्रभावकारी समन्वय गर्न सुझाव दिँदै उनले जिल्ला निर्वाचन अधिकारीलाई सक्रिय भई कानूनी व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाउन सल्लाह दिए । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदाता दर्ता अद्यावधिक, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनमा अवलम्बन गर्नुपर्ने व्यावहारिक पक्ष तथा सरोकारवालाको समन्वयको आवश्यकताका विविध पक्षबारे जानकारी गराएका थिए ।
प्रकाशित समय १८:१० बजे

















