गृहपृष्ठ भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री

भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । राष्ट्रिय भूकम्प सुरक्षा दिवस (माघ २) का सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले पुनर्निर्माण सबल ढंगले गर्न सरकार सफल भएको र केही ढिला भए पनि अन्तिम चरणमा पुगेको बताएका हुन् ।

‘पुनर्निर्माणका सन्दर्भमा यो महत्त्वपूर्ण र सन्तोषलाग्दो विषय हो । यसबाहेक देशैभर नयाँ बन्ने घरहरूको सुरक्षित निर्माणका लागि नगरपालिका तथा गाउँपालिका, विभिन्न सरकारी निकाय, सामाजिक, गैरसरकारी, द्विपक्षीय साझेदार संस्थामार्फत भवन निर्माण संहिताको कार्यान्वयनमा जोड दिइएको छ । हाम्रो अनुभव अन्य देशहरूलाई पनि अनुकरणीय भएको छ,’ प्रधानमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ ।

२०७२ कै भूकम्पको अनुभवलाई आधार बनाएर सरकारले बाढीपहिरोले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न कार्यविधि पारित गरेको उनले बताएका छन् । क्षति भएका घरहरूलाई पुनर्निर्माण गर्न हिमाली जिल्लामा प्रति लाभग्राही पाँच लाख, पहाडीमा चार लाख र तराईका जिल्लामा तीन लाख रुपैयाँ दिने कार्यविधि तयार भएको छ ।

१९९० साल माघ २ गतेको महाभूकम्पमा परी सयौँको ज्यान जानुका साथै अर्बौंको भौतिक क्षति भएको थियो । त्यसयता सरकारले हरेक वर्षको माघ २ गतेलाई भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

प्रकाशित समय ०७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु