गृहपृष्ठ माघी मनाउने चलन फेरियो
माघी मनाउने चलन फेरियो
सुदूरपश्चिमका थारु समुदायमा माघी पर्व मनाउने शैली परिवर्तन हुँदै गएको छ । परापूर्वकालदेखि माघीलाई नयाँ वर्षको रुपमा मनाउने कैलाली र कञ्चनपुरका थारु समुदायले उत्सवको रुपमा पनि माघी मनाउन थालेका छन् । घरमा ठूलाबडाको आशिर्वाद लिएर मनाइने माघीलाई थारु समुदायले सांस्कृतिक, कृषि, पर्यटन तथा बजार प्रवर्द्धन उत्सव र माघी मिलन समारोह आयोजना गरी मनाउन थालेका हुन् ।
कैलाली र कञ्चनपुरमा बसोवास गर्ने थारु समुदायले यस वर्ष पनि हर्सोल्लासका साथ माघी पर्व मनाइरहेका छन् । पुस मसान्तसँगै थारु गाउँहरुमा भव्यताका साथ माघी पर्व सुरु हुने गर्दछ । गाउँ-गाउँमा सुँगुर काटेपछि थारु समुदायमा माघी पर्व औपचारिक रुपमा सुरु हुन्छ । पछिल्लो समयमा माघी सम्पूर्ण नेपालीहरुको चाड भएको छ । तर थारु समुदायमा माघी विशेष पर्वको रुपमा मनाइन्छ । माघ महिना लागेसँगै थारु संवत २६४२ अर्थात् थारु समुदायको नयाँ आर्थिक वर्ष सुरु भएको छ ।
धनगढी उपमहानगरपालिका- ३ की जानकी चौधरीले पुस मसान्तमा सुँगुरको मासु खाने र माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा सःशुल्क नुहाई घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ (उपहार) छुट्याउने गरेको बताइन् । उनले भनिन्, ‘यत्ति गरिसकेपछि मान्यजनहरुसँग आशिर्वाद थाप्दै ढिक्री, सुँगुरको मासु, तरुल लगायतका परिकार खाएर माघी मनाउँछौँ ।’

धनगढी- ३ कै रामलक्ष्मी चौधरीले भनिन्, ‘माघ १ गते खानपिन, ढोगभेट र रमाइलोमै बिताउँछौँ ।’ दिउँसो आशिर्वाद थाप्ने र मिठोमसिनो खानुका साथै साँझबाट मघौटा नाच्ने र धमार गाउने प्रचलन छ । धनगढी- ३ कै डबल चौधरीले माघ महिनासँगै थारु समुदायको नयाँ आर्थिक वर्ष सुरु भएको बताउ । उनका अनुसार माघ २ गतेदेखि अघिल्लो वर्षको समीक्षासँगै योजना तर्जुमा र नेतृत्व (भल्मन्सा, चिराकी/चौकीदार)को जिम्मेवारी हेरफेरको तयारी हुन्छ । ‘माघ २ गतेदेखि नयाँ भल्मन्सा (बड्घर), देशबन्ध्या (बर्का गुरुवा) चुन्ने वा पुरानैलाई निरन्तर जिम्मेवारी दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्छौं र पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्दतिद्वारा अनुमोदन गर्छौँ,’ उनले भने ।
माघीमा मेला महोत्सव
विगतमा घरगाउँमै सीमित माघी पर्व अहिले सभा समारोहमा परिणत हुन थालेको छ । घरमा रमाइलो गर्ने, नाचगान गर्ने प्रचलन विगतबाटै थियो भने अहिले आएर गाउँमा मेला महोत्सवसमेत लाग्न आयोजना हुन थालेको छ । माघीको अवसर पारेर कञ्चनपुरको मेलौरी नगरपालिकामा थारु कल्याणकारिणी सभा बेलौरीको आयोजनामा शुक्रबारबाट प्रथम बेलौरी माघी मेला सुरु भएको छ । थारु कल्याणकारिणी सभा गोदावरीको आयोजनामा माघ ५, ६ र ७ गते कैलालीको गोदावरी नगरपालिका- ८, मजगाउँमा ‘माघ महोत्सव’ २०७५ हुने भएको छ । त्यसैगरी धनगढी नगरपालिका- ९, बंगरा गाउँ र धनगढी नगरपालिका- ६, जालीमा पनि माघी मेला आयोजना हुने भएको छ ।
आयोजकका अनुसार सबै मेलाको उद्देश्य माघीलाई भव्य रुपमा मनाउने नै रहेको छ । मेलामा मुल आकर्षणको रुपमा थारु समुदायको नाच, खाना, थारु गाउँ तथा थारु समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सामग्रीहरु प्रदर्शनी हुनेछन् । आयोजकहरुले स्थानीय बयरकोटको बयर चट्नी र चौफेरी तालको माछा, घोंगी, गँगटो समेतको स्वाद मेलामा लिन पाइने बताएका छन् ।

प्रकाशित समय १८:३० बजे

















