गृहपृष्ठ देशका अधिकांश क्षेत्रको मौसम सामान्य बदली हुने, केही स्थानमा वर्षाको सम्भावना

देशका अधिकांश क्षेत्रको मौसम सामान्य बदली हुने, केही स्थानमा वर्षाको सम्भावना

mausam-newskarobar

देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न क्षेत्रको मौसम प्रभावित भएको हो ।

अहिले प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । शनिबार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ । प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागहरू साथै सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु