गृहपृष्ठ विश्वभरका संक्रमितमध्ये ९७ प्रतिशत कोरोनामुक्त
विश्वभरका संक्रमितमध्ये ९७ प्रतिशत कोरोनामुक्त
कोरोनाभाइरस (कोभिड- १९)को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । अहिलेसम्म विश्वभर २० लाख १६ हजार ६ सयभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् । मृत्यु हुनेको यो संख्या कुल संक्रमितको ३ प्रतिशत हो ।
विश्वभर संक्रमितको संख्या ९ करोड ४२ लाख ८४ हजार पाँच सय पुगेको छ । यसमध्ये १ लाख ११ हजार जनाको अवस्था गम्भीर छ । त्यसैगरी विश्वका विभिन्न मुलुकमा ६ करोड ७३ लाख २५ हजार जनाले कोरोना जितेका छन् । वर्ल्डोमिटरमा उल्लेख भएअनुसार हालसम्म ९७ प्रतिशत संक्रमित कोरोनामुक्त भएका छन् ।
महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या दुई करोड ४१ लाख २ हजारभन्दा धेरै पुग्दा ४ लाख १ हजार ८ सयभन्दा बढी अमेरिकीको कोभिड- १९ बाट ज्यान गएको छ । भारतमा संक्रमितको संख्या एक करोड ५ लाख ४३ हजारभन्दा बढी र मृत्यु हुनेको संख्या एक लाख ५२ हजार १ सयभन्दा धेरै छ । पछिल्लो तथ्यांकअनुसार ब्राजिलमा २ लाख ८ हजार २ सय बढीको कोरोनाबाट मृत्यु भएको छ । त्यहाँ ८३ लाख ९४ हजार २ सयभन्दा बढी संक्रमित रहेका छन् ।
नेपालमा शुक्रबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ । कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार ८१६ पुगेको र सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार ५६७ छ ।
प्रकाशित समय ०८:२१ बजे

















