गृहपृष्ठ छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी शनिबारमात्रै ११ जनाको मृत्यु भएको छ । ललितपुर, नवलपरासी पूर्व, बर्दिया, सिन्धुली, पर्सा, सप्तरी, कास्की, मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ललितपुरको गोदावरी नगरपालिका २ लट्टा भन्ज्याङस्थित सडकमा बा. ४ ख ६२०८ नम्बरको टिपर सडकबाट करिब ३ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्रिप्परका सहचालक काभ्रे पाँचखाल बस्ने १८ वर्षीय दिपेश मिजारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रिप्परका चालक काभ्रे पाँचखाल बस्ने २४ वर्षीय अजय तमाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका ४ चुलिबोझास्थित सडकमा लु. ३ त ७६०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक देवचुली नगरपालिका ९ बस्ने २५ वर्षीय विकास गोतामे मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ५ वनविरस्थित सडकमा से. २ प १३२१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ वनवीर गाउँ बस्ने पैदलयात्री ५० वर्षीया उचानी थारुको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको तिनपाटन गाउँपालिका ११ स्थित सडकमा ना. ६ त २७४४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३४ वर्षीया लालु माया तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ४ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी चकभडे पठाएकोमा ट्रमा सेन्टर काठमाडौं रिफर भएका छन् । फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्साको वीरगन्ज महानगरपालिका १६ गणेशटोल नगवास्थित सडकमा ना. २ ह ६६३९ नम्बरको इलेक्ट्रोनिक रिक्साले ठेलालाई शनिबार साँझ ठक्कर दिँदा ठेला चालक सोही ठाउँ बस्ने ६० वर्षीय रामचरण साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल हुँदै नेसनल मेडिकल कलेज वीरगन्जमा थप उपचारको क्रममा मृत्यु भएको हो ।इईलेक्ट्रोनिक रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको खड्क नगरपालिका ८ गिरधारी राईस मिलनजिक सडकमा स. १ त २५१२ नम्बरको रोकिरहेको ट्याक्टरलाई मे. १ ज २४५२ नम्बरको सुमोले आइतबार बिहान ठक्कर दिँदा सुमोमा सवार हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सुमोका चालक पाँचथर फिदिम नगरपालिका ३ बस्ने ३४ वर्षीय टेकबहादुर दर्जीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका १ याम्दीमा बा. २ च ७४१० नम्बरको जिप अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जिप चालक सोही महानगरपालिका १० रामबजार बस्ने ५० वर्षीय प्रकाश पुन र जिपमा सवार सोही महानगरपालिका उत्तम चोक बस्ने ५२ वर्षीया चित्रा पुनको मृत्यु भएको छ । प्रकाशको पश्चिम क्षेत्रीय अस्पताल र चित्राको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य सात जनाको सहारा अस्पतालमा उपचार भइरहेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका १० सुकुनामा बिआर ०६ जिडि ५५५२ नम्बरको ट्रकले बा. ८८ प ४६९६ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक बेलबारी नगरपालिका ६ बस्ने २४ वर्षीय हितकुमार राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका बयेरबन बस्ने ३५ वर्षीया डोल्मा राई तथा उनकी ११ वर्षीया छोरी सुनिमा राईको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्रक चालक भारत बस्ने ५८ वर्षीय उमा शंकर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका २ आँपगाछी चोकमा को. १ ख ५५२७ नम्बरको ट्रकले को. ३२ प ६७१६ नम्बरको मोटरसाकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका १० बस्ने ३० वर्षीय बिक्रम चोम्जोङको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय साहिल तुलाधरलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीकै बराहक्षेत्र नगरपालिका १ रानीखोलास्थित सडकमा प्रदेश १ ०२-०४१ प ४९७१ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका १ बिहीबारे बस्ने २६ वर्षीय सनम याख्खाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा धरान अस्पताल हुँदै नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । चालक सामान्य घाइते भएका छन् ।
प्रकाशित समय १२:३९ बजे

















