गृहपृष्ठ कोभिडविरुद्धकाे खोप ३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क उपलब्ध हुन्छ : प्रधानमन्त्री
कोभिडविरुद्धकाे खोप ३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क उपलब्ध हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) विरुद्धको खोप अबको ३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । देशव्यापी खोप अभियानको शुभारम्भ समारोहलाई बुधबार बालुवाटारस्थित निवासबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप सबैभन्दा महत्वपूर्ण भए पनि खोप सँगसँगै अन्य स्वास्थ्य सुरक्षा मापदण्ड पनि पालना गरिरहनु पर्ने बताए ।
काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २२० स्थानबाट खोप अभियान शुभारम्भ भएको जानकारी दिए । ‘कोभिड- १९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा प्रवेश गरेको छ । माघ १८ गतेसम्म ७७ वटै जिल्लाका ३ सय केन्द्रमा खोप अभियान अघि बढाइनेछ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले कोभिडले विश्वव्यापी रुपमा हाम्रो सभ्यतालाई विकास गरेको पनि बताए । नेपालसहित एसियाली मुलुकमा सीमित रहेको नमस्तेले अहिले विश्वमा आफ्नो स्थान बनाएको उनको भनाइ थियो । ओलीले अब विश्वभर ह्याण्डसेकलाई बाइबाई गरेर नमस्ते गर्ने अभियान सुरु भएको भन्दै कोरोना सुरक्षामा ध्यान दिनु सबैभन्दा बढी आवश्यक रहेको बताए । उनले कोभिड विरुद्ध खटिने स्वास्थ्यकर्मीहरूलाई धन्यवाद र मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप अभियान आजबाट देशभर सुरु भएको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ । कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

प्रकाशित समय ११:५८ बजे

















