गृहपृष्ठ १ केजी सुन र १७ लाख नगदसहित वृद्धा पक्राउ
१ केजी सुन र १७ लाख नगदसहित वृद्धा पक्राउ
फाइल तस्बिर ।
डोटीमा प्रहरीले एक किलोग्रामभन्दा बढी सुन र साढे १७ लाख नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार केआईसिंह गाउँपालिकास्थित एक घरमा लुकाएर राखेको सो परिमाणको सुन र एक वृद्धाको साथबाट १७ लाख ४७ हजार नगद बरामद भएको हो । नगदसहित केआईसिंह गाउँपालिका- ६ भिताणीकी काली भुल पक्राउ परेकी हुन् ।
‘डोटीबाट ठुलो परिमाणमा नगद बोकेर एक महिला धनगढीतर्फ आउँदै गरेको’ भन्ने सुराकीको आधारमा प्रहरीले भुललाई बिच बाटोमै फेला पारी सोधपुछ गरेको थियो । सोही क्रममा उनको साथबाट सो रकम बरामद भएको इन्स्पेक्टर कान्तिराज जोशीले जानकारी दिए । सोधपुछकै क्रममा उनको घरमा ठूलो परिमाणमा सुन रहेको खुलेको थियो । त्यसलगत्तै घरमा खोजतलास गर्दा ११ सय ग्राम सुन फेला परेको इन्स्पेक्टर जोशीले बताए ।
प्रहरीका अनुसार भारतमा मजदुरी गर्दै आएका एक व्यक्तिले आफूलाई गत भदौमा सुन पठाएको पक्राउ परेकी भुलले बताएकी छन् । ‘सुन पठाउने व्यक्ति अहिले गाउँमा नभएको बुझियो । थप अनुसन्धान भइरहेको छ,’ इन्स्पेक्टर जोशीले भने । सो सुन अन्य व्यक्तिले समेत बाँडेर राखेको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रकाशित समय १६:३९ बजे

















