गृहपृष्ठ नेपालमा झन् बढ्यो भ्रष्टाचार, सुशासन सूचकांकमा ४ स्थान तल
नेपालमा झन् बढ्यो भ्रष्टाचार, सुशासन सूचकांकमा ४ स्थान तल
दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भुटान
विश्वका विभिन्न मुलुकमा भएको भ्रष्टाचारसम्बन्धी अध्ययन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा गत वर्ष (सन् २०२०)मा भ्रष्टाचार बढेको तथ्यांक सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको २०२० को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)अनुसार ३३ अंकसहित नेपाल विश्वभरमा ११७औं स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपालले ३४ अंक प्राप्त गरी सो सूचीमा ११३औं स्थानमा रहेको थियो ।
ट्रान्सपरेन्सीका अनुसार विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा सूची तयार गरिएको हो । सो सूचकांकले १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापन गरेको ट्रान्सपरेन्सीले जनाएको छ । यस सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार रहेको जनाउँछ ।
सन् २०१९-२० मा विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीइएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा सीपीआई २०२० मा नेपाललाई १०० मा ३३ अंक (११७औं स्थान) दिइएको ट्रान्सपरेन्सीले उल्लेख गरेको छ । ‘यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ,’ ट्रान्सपरेन्सीले भनेको छ, ‘अघिल्लो वर्षभन्दा यसवर्ष नेपालको स्कोर घट्नुमा वर्ल्ड जस्टिस प्रोजेक्टको स्कोरमा आएका कमीले गर्दा हो जसले राज्यका प्रमुख अंगहरुमा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोगबारे सर्वेक्षण गर्ने गर्दछ ।’
सीपीआई २०२० मा दुईतिहाइ मुलुकले ५० भन्दा कम अंक (स्कोर) पाएका छन् र यस वर्षको औसत स्कोर ४३ रहेको छ । यस वर्षको सूचकांकमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजील्याण्डले कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने दक्षिण सुडान र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।
उसले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दैआएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको हो ।
हेर्नुहोस् प्रतिवेदन :

प्रकाशित समय १४:५६ बजे

















