गृहपृष्ठ एनएमबी बैँकको नाफामा ४७ प्रतिशत वृद्धि

एनएमबी बैँकको नाफामा ४७ प्रतिशत वृद्धि

एनएमबी बैँकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशत नाफा बढाएको छ । बिहीबार प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैँकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५२ करोड ११ लाख रुपैयाँ अर्थात् ४७.६९ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिसम्ममा बैँकले १ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैँकको खुद ब्याज आम्दानी १३ करोड ५१ लाख रुपैयाँ बढेर २ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ७२ करोड ४० लाख रुपैयाँ बढेर २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १४ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ रहेको बैँकको जगेडा कोषमा ५ अर्ब १० करोड ९२ लाख रुपैयाँ छ ।

बैँकको प्रतिसेयर आम्दानी पनि बढेको छ । बैँकको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा २०.३१ रुपैयाँबाट बढेर २२.५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६०.४१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १९.७३ गुणा छ ।

६ महिनामा बैँकको निक्षेप १ खर्ब ३१ अर्ब ६६ करोडबाट बढेर १ खर्ब ४२ अर्ब ५६ करोड र कर्जा प्रवाह १ खर्ब १५ अर्ब ६६ करोडबाट बढेर १ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

बैँकको निष्क्रिय कर्जा भने बढेको छ । गत वर्षको पुससम्ममा १.९६ प्रतिशत रहेको बैँकको निष्क्रिय कर्जा चालू आवको पुससम्ममा २.३८ प्रतिशत पुगेको हो । बैँकको आधार दर १०.१२ प्रतिशतबाट ७.४० प्रतिशतमा र स्प्रेड दर ५.०३ प्रतिशतबाट ४.०२ प्रतिशतमा झरेको छ ।

प्रकाशित समय १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु