गृहपृष्ठ प्रदेश सरकारमाथि प्रश्न- भागरथीको बलात्कार र हत्याका विषयमा किन पन्छिएको ?

प्रदेश सरकारमाथि प्रश्न- भागरथीको बलात्कार र हत्याका विषयमा किन पन्छिएको ?

सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टले भागरथी बलात्कार र हत्या प्रकरणबारे प्रदेशसभामा सरकारको धारणाका लागि प्रश्न गर्दा मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्री नै भागेको बताएका छन् । भट्टको गृह क्षेत्रसमेत रहेको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या भएको विषयमा सरकारको धारणा माग्दा कानुनमन्त्री भागेका हुन् ।

बुधबार हराएकी भागरथी बिहीबार मृत भेटिएकी थिइन् । भागरथीको हत्याबारे प्रदेश सरकारको कुनै ध्यान नगएको भन्दै प्रदेशसभामार्फत ध्यानाकर्षण गराउँदा सभाबाटै मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह भागेको भट्टले बताएका हुन् ।

नेता भट्टले भागरथी बलात्कार र हत्या प्रकरणमा प्रदेश सरकार पन्छिन खोजेको आरोप लगाए । प्रदेश सरकार मौन बस्ने अनि संघ सरकारलाई मात्रै आरोप लगाउने भन्दै उनले प्रश्न गरे ।

‘प्रदेश सरकार बलात्कार जस्ता घटनामा टुलुटुलु हेरेर बस्ने र केन्द्र सरकारलाई नै दोष दिने हो भने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय किन चाहियो ?’ उनले प्रश्न गरे । भट्टले निर्मला पन्तको हत्यारालाई अन्तरिक्षबाट समेत खोजेर ल्याउँछौँ भनेका कानुनमन्त्री शाहले भागरथीको घटनाप्रति समेत गम्भीरता नदेखाएको आरोप लगाए । ‘पीडित परिवारसम्म प्रदेश सरकारको कुन प्रतिनिधि पुग्यो ? कहाँ देखियो प्रदेश सरकार ? यहाँ स्पष्ट हुनुपर्छ,’ उनले भने ।

प्रकाशित समय ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु