गृहपृष्ठ परराष्ट्रमन्त्री ज्ञवाली र बेलायती समकक्षी अहमदबीच वार्ता, कोभ्याक्स सुविधाको सराहना
परराष्ट्रमन्त्री ज्ञवाली र बेलायती समकक्षी अहमदबीच वार्ता, कोभ्याक्स सुविधाको सराहना

बेलायतले नेपाललगायतका अतिकम विकसित मुलुकलाई कोभिड १९ विरुद्धको खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने प्रतिबद्धताका बीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायती समकक्षी लर्ड अहमदबीच वार्ता भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका विदेशमन्त्री अहमदबीच सोमबार भएको भर्चुअल वार्ताका क्रममा बेलायतले कोभ्याक्समार्फत खोप सहयोग गर्न लागेको भन्दै मन्त्री ज्ञवालीले प्रशंसा गरे ।
बेलायतले नेपालसहित अन्य अतिमक विकसित देशहरू कोभ्याक्स सुविधाको खोपबाट लाभान्वित हुने जनाइएको छ । मानव समुदायले सामना गरिरहेको महामारीको साझा चुनौतीलाई सम्बोधन गर्न द्विपक्षीय र बहुपक्षीय तहमा ठोस प्रयासको आवश्यकतामा पनि मन्त्री ज्ञवालीले जोड दिएका छन् ।
बेलायतका विदेशमन्त्री अहमदले कोभिड महामारीविरुद्धको लडाइँसँगै विभिन्न क्षेत्रसँग जोडिएर नेपालसँग निरन्तर विकास साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । वार्ताका क्रममा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध र सहयोगसम्बन्धी विभिन्न विषयमा छलफल भएको छ ।
कोभ्याक्स सुविधाको खोप फागुन दोस्रो साताभित्र नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियानका लागि मन्त्रालयले तयारी पनि थालिसकेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालका पहिलो चरणमा करिब ३ प्रतिशत नागरिकलाई पुग्ने २२ लाख ५६ हजार मात्रा अक्सफोर्ड र अस्ट्राजेनेकाको खोप प्राप्त हुने बताइएको छ । कोभ्याक्सले चार चरणमा नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निःशुल्क उपलब्ध गराउनेछ ।
प्रकाशित समय ०८:१४ बजे