गृहपृष्ठ कर्मभूमि समाज र सिटिजन्स बैंकबीच ‘सहुलियतपूर्ण’ कर्जा प्रदान गर्ने सम्झौता

कर्मभूमि समाज र सिटिजन्स बैंकबीच ‘सहुलियतपूर्ण’ कर्जा प्रदान गर्ने सम्झौता

कर्मभूमि समाज र सिटिजन्स बैंक इन्टरनेसनलबीच कर्मभूमि समाजले सिफारिस गरेका व्यवसायमा कर्जा लगानी गर्ने सम्झौता भएको छ । हात्तीवन १५ ललितपुरमा अवस्थित कर्मभूमि समाजले हातमा सीप भएकालाई उद्यमशील बनाउन बैंक तथा वित्तीय संस्थामार्फत वित्तीयकरण सुविधा उपलब्ध गराउन मध्यस्थकर्ताको काम गर्दै आएकोमा सिटिजन्स बैँकसँग पछिल्लो सम्झौता गरेको हो ।

देशमा उद्यमशीलता प्रवर्धन गरी गरिबी निवारण तथा विपन्न क्षेत्रलाई माथि उकास्ने काममा क्रियाशील कर्मभूमि समाज र सिटीजन्स बैंकबीच साना, मझौला उद्यम (एसएमईज्), व्यावसायिक कृषि र पशुपालन कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केकालाई परियोजना कर्जा, सहुलियतपूर्ण महिला उद्यमशीलता कर्जा र दलित समुदाय उद्यमशीलता कर्जा प्रदान गर्ने सहमति भएको छ ।

कर्मभूमिले कर्जाको आवश्यकता रहेका उद्यमी, व्यवसायी पहिचान गरी ऋण लिनेका तर्फबाट बैंकको आवश्यकताअनुसारका कागजात, प्रस्ताव बैंकसमक्ष पेस गर्नेछ । कागजातहरूको पहिलो चरणको जाँचबुझ समाजले गर्नेछ । समाजले नेपाल राष्ट्र बैंकको निर्देशिकाले तोकेबमोजिम सर्तहरू पालना गरी कर्जाका लागि ऋणग्राहीका तर्फबाट उक्त कागजातहरू पेस गर्नेछ ।

ऋण लिने पक्ष र बैंकबीचको पुलको रूपमा समाजले ऋण लिने पक्षका क्रियाकलाप नजिकबाट अनुगमन गरी सहजकर्ताको भूमिका निर्वाह गर्नेछ । ऋण लिने पक्षका नाममा कर्जा बुकिङ गर्दा समाजको सिफारिसमा भएको हुनेछ । तर, कर्जा प्रवाह गर्दा बैंकले आफ्नो आन्तरिक कार्यविधि, जोखिम मूल्यांकन, नेपाल राष्ट्र बैंकको निर्देशिका तथा आफ्नो विवेक प्रयोग गर्ने सम्पूर्ण अधिकार बैंकमा निहित हुनेछ ।

कर्जा भुक्तानीको प्राथमिक दायित्व ऋणीको हुनेछ । कर्मभूमि समाजले कर्जाको भुक्तानी तालिकाअनुसार साँवा, ब्याज तथा शुल्क भुक्तानीमा पूर्णरूपमा सहयोग गर्ने जनाइएको छ । नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार ब्याजदर र जोखिम बापतको शुल्क बैंकले निर्धारण गर्नेछ र राष्ट्र बैंकको निर्देशनअनुसार यो परिवर्तन हुन पनि सक्नेछ ।

सम्झौतापत्रमा कर्मभूमि समाजका कार्यकारी सल्लाहकार राजेन्द्र काफ्ले र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु