गृहपृष्ठ ‘पशुपतिमा सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत’

‘पशुपतिमा सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत’

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिंगमुनि सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत रहेको बताएका छन् । नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा उनले यसअघि प्राचीन स्मारक संरक्षण ऐन बन्नुअघि नै राजा रणबहादुर शाहका पालामा शिवलिंगमुनि चाँदीको जलहरी राखिएको बताए । पशुपतिनाथमा रहेका चाँदीको खराउसमेत सुनको बनाइएको छ ।

‘ऐन उल्लंघन गरी सुनको जलहरी राखेमा पाँच हजारदेखि एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ, प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १२ को खण्ड (ग) मा यस्तो व्यवस्था गरिएको छ,’ पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्ष रहेका वैद्यले भने । सम्पदा मास्न सुनको जलहरी राख्ने हठ कायमै राखे आफू अनसन बस्ने उनको भनाइ छ ।

सम्पदा संरक्षण अभियानमा लागेका कानुन व्यवसायी सञ्जय अधिकारीले प्राचीन स्मारक संरक्षण ऐनको दफा २ मा सम्पदालाई मौलिक रूपमा दुरुस्त राख्नुपर्ने व्यवस्था भएकाले सुनको जलहरी राख्न नसकिने बताए । सुनको जलहरी राख्ने काम नरोके आफू रिट निवेदन लिएर सर्वोच्च अदालत जाने उनको भनाइ छ ।

पशुपतिका पालोवाला भण्डारी केदारमान भण्डारीले गुह्येश्वरीको गर्भगृहमा राखिएको सुन १०/१० वर्षमा खिइएर जाने गरेकाले पशुपतिनाथमा समेत त्यस्तै हुनसक्ने भएकाले भण्डारीले जिम्मा लिन नसक्ने बताए । पशुपतिको प्रांगण विस्तार गर्ने नाममा समेत सम्पदा नास गर्ने काम भइरहेको उनको भनाइ छ । पशुपतिलाई विभिन्न भक्तजनले चढाएका गरगहनालगायत सुन, चाँदी र तामाका सामग्रीसमेत मर्मत नभई थन्किएकाले सम्पदा संरक्षणका लागि उपयुक्त कदम चाल्ने उनले बताए ।

अर्का पालोवाला भण्डारी ओम भण्डारीले भने हराउँदा, नासिँदा वा मासिँदा, खिइँदा भण्डारीले जिम्मा लिनु नपर्ने हो भने १०४ जना भण्डारीमध्ये धेरैले सहमति जनाउने बताए । पशुपति मूल मन्दिरभित्र सुनको घण्टा, सुनको नागलगायत सामग्री बनिसकेकाले सुनको जलहरीलाई पनि कसैले रोक्न नसक्ने उनको तर्क छ ।

कोषले मूल मन्दिरभित्र सुनको जलहरी राख्न लागेको हो । यसका लागि सरकारले ३० करोड दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । सुनको जलहरी बनाउन करिब एक अर्ब लाग्ने कोषले जनाएको छ । अरु रकम कोषले व्यवस्थापन गर्नेछ ।

पशुपतिको छाना र बसाहामा पनि सुनको लेपन गरिने जनाइएको छ । छाना र बसाहामा यसअघि पनि सुनको लेपन लगाइएको थियो । कोषले पहिले लगाएको सुनको लेपन उड्न थालेकाले फेरि लगाउन लागिएको बताए पनि स्थानीयवासीले भने नउडेको बताएका छन् । कार्यक्रममा कोष र पुरातत्व विभागका अधिकारीलाई समेत बोलाइएकामा नआएको समाजले जनाएको छ । (रासस)

प्रकाशित समय ०७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु