गृहपृष्ठ प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि रिट निवेदक पक्षको जवाफी बहस सुरु

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि रिट निवेदक पक्षको जवाफी बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि जवाफी बहस सुरु हुँदैछ । सर्वोच्‍च अदालतको संवैधानिक इजलासमा रिट निवेदकको जवाफी बहस सुरु हुन लागेको हो ।

प्रधानमन्‍त्री केपी शर्मा ओली पक्षको बहस गत बिहीबार सकिएको थियो । ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट निवेदक पक्षका वकिलले आज जवाफ दिनेछन् । जवाफी बहसमा नेकपा प्रचण्ड-माधव समूहका नेता देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्‍ताहरू रमण श्रेष्‍ठ र शम्‍भु थापा लगायतले बहस गर्नेछन् ।

जवाफी बहस सकेपछि एमीकस क्यूरीमा रहेका पाँच जनालाई समय दिइने सर्वोच्‍च अदालतले जनाएको छ । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।

माघ ४ गते ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाई भइरहेको प्रतिनिधिसभा विघटन विरुद्धका १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानुन व्यवसायीले बहस गरे । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता भएका थिए ।

प्रकाशित समय ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु