गृहपृष्ठ संसद विघटन मुद्दामा निवेदकको जवाफी बहस सकियो, भोलिदेखि एमिकस क्युरीको राय

संसद विघटन मुद्दामा निवेदकको जवाफी बहस सकियो, भोलिदेखि एमिकस क्युरीको राय

प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका १३ रिटमाथिको सुनुवाइको क्रममा निवेदकका पक्षबाट जवाफी बहस सकिएको छ । सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, गाेविन्द बन्दी, कृष्णप्रसाद भण्डारी र टीकाराम भट्टराईसहितले निवेदकका तर्फबाट बहस गरेका थिए ।

यसअघि सरकारी पक्ष, सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले बहस गरेका थिए । मुद्दामा बहस भने निवेदक पक्षबाट सुरु भएको थियो । मंगलबारबाट एमिकस क्युरीले राय पेस गर्ने सर्वोच्चले जनाएको छ । एमिकसमा पाँच जना अधिवक्ता रहेका छन् । एमिकसको राय सुनिसकेपछि भने संवैधानिक इजलासले फैसला सुनाउने मिति तोक्नेछ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसलगत्तै संसद विघटन संविधानविपरित भन्दै सर्वोच्च अदालतमा रिट दायर भएका थिए । सोही रिटउपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासमा माघ ४ देखि सुनुवाइ भइरहेको छ ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु