गृहपृष्ठ स्वरोजगार कर्जा कोष : १२ वर्षमा ७८ हजारलाई रोजगारी

स्वरोजगार कर्जा कोष : १२ वर्षमा ७८ हजारलाई रोजगारी

स्वरोजगार कर्जा कार्यक्रम कोषले आर्थिक वर्ष ०६५/६६ देखि हालसम्म ७७ हजार ६२८ जनालाई अभिमुखीकरण तालिम दिइसकेको छ भने ७७ हजार ६२८ जना नै यस कार्यक्रममार्फत् स्वरोजगार बनेका छन् । त्यसैगरी कोषले हालसम्म ९ अर्ब ६३ करोड ५९ लाख लगानी गरेको छ । कोषले ५६ हजार ४९२ जना व्यवसाय र व्यवसायीको बिमा गराएको छ भने १२ करोड ४८ लाख ११ हजार २५४ रुपैयाँ बराबर ब्याज अनुदान निकासा गरेको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी हालसम्म कोषले गरेका कार्य र भावी योजनाबारे प्रष्ट पारेका हुन् । कोषले नियमित कर्जा लगानी गर्ने तरिकामा केही परिवर्तन गरेको कोषको कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण)ले बताए । पहिला कर्जा लगानी गर्दा बैंक, वित्तीय, तथा सहकारीहरुलाई नै व्यवसायी छनौट गर्ने अधिकार रहेकोमा अब कोषले नै व्यवसायी छनोट गरी बैंक, वित्तीय र सहकारीमार्फत् कर्जा लगानी गरेको उपाध्यक्ष रोकाले जानकारी दिए । उनले अबको छनोटमा बेरोजगार वर्गलाई पहिले छान्ने र स्वरोजगार कोष उनीहरुमाझ पु¥याउने योजना भएको उल्लेख गरे ।

उनले भने, ‘यसका लागि स्वरोजगार कर्जा लिन चाहने लक्षित वर्गले मोबाइल एप र स्वरोगार कोषको वेबसाइटमा रहेको अनलाइनमार्फत फर्म भरी सिधै कर्जा माग गर्न सकिने व्यवस्था रहेको छ ।’ त्यसैगरी कोषले सहुलियतपूर्ण कर्जा सापट लिँदा ३.५ प्रतिशतसम्म लिएर ४ प्रतिशतसम्ममा बैंक, वित्तीय तथा सहकारी संस्थालाई कर्जा उपलब्ध गराउने र युवा स्वरोजगार कोषले ०.५ प्रतिशतसम्म संस्थागत विकासमा खर्च गर्न सक्ने उपाध्यक्ष रोकाको भनाइ छ ।

कोषले अगामी दिनमा सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी–कर्णाली इकोनोमिक कार्यक्रम, काठमाडौँ उपत्यका स्वरोजार कार्यक्रम र तराई–मधेश स्वरोगार गरी ५ कार्यक्रम सञ्चालन गरिने जनाएको छ । काठमाडौं उपत्यकामा रहेका महानगरपालिका, नगरपालिका र समान उद्देश्य बोकेका स्वरोजगार तथा रोजगारसँग जोडिएका संघ संस्थाहरुसँग समन्वय गरी अघि बढ्ने योजना रहेको उपाध्यक्ष रोकाले प्रष्ट पारे । उनका अनुसार संघले उपत्यकाका पार्क, चोक गल्ली सपिङ मल लगायतका ठाउँहरुमा ठेलगाडामा फास्ट फुड, तरकारी तथा फलफूल, दूग्धजन्य उत्पादन बिक्री आदि कार्यका लागि कर्जा उपलब्ध गराउने छ ।

यसको एउटै उद्देश्य साना–साना व्यवसायीहरुलाई प्रवर्द्धन गरेर कसरी अगाडि लैजाने भन्ने रहेकोे उनले सुनाए । त्यस्तै तराई–मधेश स्वरोजगार कार्यक्रमअन्र्तगत संघले तराईका २१ जिल्लामा भकारी प्रविधियुक्त माछा पालनमा लगानी गरी स्वरोजगारका अवसर सिर्जना गर्ने संघको योजना रहेको छ । अटोरिक्सा, ठेलगाडा, तरकारी, चटपट्टेलगायतका अन्य व्यवसायामा लगानी गरी स्वरोजगारका अवसर सिर्जना गर्न कर्जा उपलब्ध गराउने पनि संघले जानकारी दिए ।

उल्लेख गरिएकाबाहेक भेरी–कर्णाली नदी किनाराको आसपासका १७ जिल्लाहरुमा तरकारी खेती, पशुपालन, माछापालन, होमस्ट आदि व्यवसायमार्फत स्वरोजगार सिर्जना गर्ने, सप्तकोशी नदी तथा सहायक नदी किनाराको आसपासका १६ जिल्लाहरुमा माछापालन, हाँसपालन, बंगुरपालन, बाख्रापालन, आलुखेतीजस्ता व्यवसायमा स्वरोजगार सिर्जना गर्ने लगायतका योजनाहरु संघले प्रस्तुत गरेका छन् ।

प्रकाशित समय १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु