गृहपृष्ठ किन हुँदैछ धमिलो वर्षा ?
किन हुँदैछ धमिलो वर्षा ?
धुलोको प्रभाव अझै केही दिन रहने
राजधानी काठमाडौं लगायतका क्षेत्रमा धमिलो वर्षा भएको छ । धमिलो वर्षाले पारेको प्रभाव सामाजिक सञ्जालभरी देखिन्छ । धमिलो वर्षा किन भइरहेको छ ? यसका बारेमा सर्वत्र चासो र चिन्ता छ ।
मौसम पूर्वानुमान महशाखाका अनुसार भारतको राजस्थान आसपासको क्षेत्रमा चलेको धुलोको हुरी र पश्चिमी वायुको प्रभावले यस्तो भएको हो । धुलो तथा हुरीको प्रभाव अझै केही दिन देखिने समेत महाशाखाले जनाएको छ । ‘राजस्थान आसपासको मरुभूमिमा अझै पनि धुलोको हरी चलिरहेको र सो पूर्वतिर सर्ने क्रम जारी रहेको हुँदा मनसुन सकृय भई देशको पश्चिमी भाग सम्म नफैलिँदा सम्म अझै केही दिन सो धुलोको प्रभाव नेपालको वायुमण्डल तथा पर्ने पानीमा देखिने सम्भावना छ’ महाशाखाले जनाएको छ ।
‘धुलोको कण हट्न वर्षा भएर सफा गर्नुपर्ने हुन्छ’, महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘यसमा हावाको गति पनि पश्चिमबाट पूर्वतर्फ रहेकाले पूर्वी वायुलाई कमजोर तुल्याएको हुँदा पूर्णरुपमा हट्न केही दिन समय लाग्ने देखिन्छ ।’
जोगिनुहोस् : मौसमविद्
नेपालमै सम्भवतः पहिलो पटक भएको ‘डस्ट स्ट्रोम’ भनिने धमिलो वर्षाले स्वास्थ्यमा समेत असर पार्ने मौसमविद्हरुले बताएका छन् । धमिलो वर्षाले सामान्य अवस्थामा भन्दा स्वास्थ्यमा समेत असर पार्ने भन्दै सजग रहन उनीहरुले जोड दिएका हुन् ।
काठमाडौंलगायतका कतिपय स्थानमा आकासे पानी संकलन गरी उपयोग गर्ने गरिएकोमा एक/दुई दिनको पानी संकलन र उपयोग नगर्न विज्ञहरुले सुझाव दिएका छन् । धमिलो वर्षामा रसायनिक तत्वको मिश्रण हुन सक्ने भन्दै मौसमविद् अर्यालले वर्षाको पानी प्रयोग गर्न नहुने उल्लेख गरे ।
प्रकाशित समय १६:२० बजे

















