गृहपृष्ठ सुविधाभोगी बन्दै जनप्रतिनिधि

सुविधाभोगी बन्दै जनप्रतिनिधि

गाउँपालिका अध्यक्षलाई ६१ लाखको कार

स्थानीय तहका जनप्रतिनिधि सेवामुखीभन्दा पनि सुविधाभोगी बन्दै गएका छन् । स्थानीय तहमा निर्वाचित भएको एक वर्ष पुग्नै लाग्दा स्थानीय बासिन्दाले जनप्रतिनिधिहरु सुविधाभोगी बन्दै गएको महसुस गरेका हुन् ।
डेढ दशकदेखि जनप्रतिनिधि नहुँदा विकास ठप्प भएको ठानेका स्थानीयले जनप्रतिनिधि आएपछि पनि कुनै फरकपन आभाष गर्न सकेका छैनन् । विकासका कामले खासै गति लिन सकिरहेको छैन । जनप्रतिनिधि जनताभन्दा पनि आफ्नै सेवा सुविधामा केन्द्रित बन्न थालेको स्थानीयको बुझाइ छ ।
कैलालीको बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधि पनि विकास निर्माणभन्दा आफ्नै सेवा सुविधामा बढी केन्द्रित भएको आरोप स्थानीयको छ । जनप्रतिनिधिहरुले आफूले तिरेको करको सवारीसाधन खरिदलगायतमा मनलाग्दी प्रयोग गरिरहेको उनीहरुको आरोप छ ।
गाउँपालिकाका अध्यक्ष बलिराम डगौराले ६१ लाखभन्दा बढी मूल्यको स्कर्पियो कार चढिरहेका छन् भने उपाध्यक्ष स्कुटर चलाउँछिन् । गाउँपालिका अध्यक्ष डगौराले कार चढ्न थालेको केही समयपछि गाउँपालिकाका वडाध्यक्षहरुलाई मोटरसाइकल वितरण गरेका छन् । हिजोआज ६ वटै वडाका वडाध्यक्ष यमाहा कम्पनीका मोटरसाइकल चढ्छन् । जनतालाई सेवा सुविधा प्रदान गर्न सहज होस् भनेर वडाध्यक्षलाई मोटरसाइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष डगौराले बताए । गाउँपालिकाले वडासदस्यहरुलाई साइकल बाँड्ने तयारी गरिरहेको छ ।
केही समयअघि लम्कीचुहा नगरपालिकामा पनि वडाअध्यक्षहरुलाई मोटरसाइकल वितरण गर्दा गाउँ–टोलदेखि सामाजिक सञ्जालसम्म विरोध भएको थियो ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु