गृहपृष्ठ विस्थापित भएकालाई सहयोग गर्न राष्ट्रसंघको आग्रह

विस्थापित भएकालाई सहयोग गर्न राष्ट्रसंघको आग्रह

सन् २०१७ सम्ममा ६ करोड ८५ लाख मानिस विस्थापित

guterres-newskarobar

विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण आ–आफ्नो देशबाट विस्थापित हुन बाध्य भएका नागरिकलाई आवश्यक सहयोग गर्न र कुनै पनि किसिमको दुर्व्यवहार नगर्न संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । महासचिव एन्टोनियो गुट्रेसले विस्थापन हुनु र शरणार्थीका रुपमा बाहिरिनु मानिसको बाध्यता भएकाले अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।

सन् २०१७ को अन्त्यसम्ममा ६ करोड ८५ लाख व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । आफ्नो देश या इलाकाबाट विस्थापित हुने सर्वसाधारणमा प्रायः म्यानमार र सिरियाका धेरै छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको हालै सार्वजनिक गरिएको सो प्रतिवेदनमा जनाइएको छ ।

महासचिव गुट्रेसले हालैमात्र म्यानमारबाट भागेर बंगलादशेको कोक्स बजारमा शरणार्थीका रुपमा बसिरहेका रोहिङ्ग्या शरणार्थीको शिविर भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले ती शरणार्थीले आधारभूत खाना र बासको अभावमा अत्यन्तै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको तथ्य देखेको बताए ।

म्यानमारको सेनाले नै ज्यादति गरेपछि ती शरणार्थी भागेर बंगलादेश पुगेका हुन् । हाल त्यहाँ करिब ८ लाख शरणार्थी छन् । महासचिव गुट्रेसले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘विश्वमा शरणार्थी तथा आफ्नै देशभित्र पनि विस्थापित भएका नागरिक निकै दयनीय जीवन बिताउन बाध्य छन्, उनीहरुलाई आवश्यक सहयोग र समन्वयका लागि म सबैसँग आग्रह गर्छु ।’

(रासस/एएफपी)

प्रकाशित समय १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु