गृहपृष्ठ इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर
इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवर्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ । धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाट क्षमताको आयोजनाको विद्युत् खरिद सम्झौतामा सोमबार हस्ताक्षर भएको हो ।
प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाका तर्फबाट प्रवर्धक जलशक्ति हाइड्रो कम्पनीका अध्यक्ष तिलक लामाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् सुक्खायाम (१६ मंसिर-१५ जेठसम्म) र वर्षायाम (१६ जेठ-१५ मंसिरसम्म)मा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ ।
आयोजनाले वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म साधारण मूल्यवृद्धि पाउनेछ । आयोजनाबाट वार्षिक १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ । एक वर्षभित्रमा वित्तीय व्यवस्थापन गरी आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । आयोजनाको निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ ।
सम्झौता अनुसार आयोजनाले व्यापारिक रुपमा विद्युत् उत्पादन गर्नुपर्ने मिति सन् २०२४ डिसेम्बर तोकेको छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रूपैयाँ छ । हाल आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनाउनेलगायतका निर्माणअघिका काम भइरहेको कम्पनीका अध्यक्ष लामाको भनाइ छ ।
उत्पादित विद्युत् ३२ किलोमिटर लामो प्रसारणलाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिशूली ३ बी हव सब-स्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।
(रासस)
प्रकाशित समय १५:३६ बजे